Listen LIVE

परिचयपत्र नपाएको मुक्त कमलरीको गुनासो

दाङ : मुक्त कमलरीले कमलरी मुक्त घोषणा गरिएको १२ वर्ष बित्दा पनि अहिलेसम्म परिचयपत्र पाउन नसकेको गुनासो गरेका छन् । मुक्त कमलरी विकास मञ्चद्वारा आयोजित प्रदेशस्तरीय संवाद कार्यक्रमका वक्ताले यस्तो गुनासो गरेका हुन् । 

मुक्त कमलरी एवं कमलरी अभियन्ता उर्मिला चौधरीले परिचयपत्र नपाउँदा शिक्षासहित विभिन्न सेवासुविधाबाट वञ्चित भइरहेको बताइन् । उनले भनिन, “परिचयपत्रका कारण सयौँ मुक्त कमलरीले छात्रवृत्ति पाउन नसक्दा बिचैमा पढाइ छोड्नुपर्ने अवस्था आएको छ । जमिनदारका घरबाट मुक्त भए पनि राज्यले सही ढङ्गले पुनस्र्थापना गर्न नसक्दा १२ हजार मुक्त कमलरीको भविष्य अन्योल बनेको छ ।” 

कमलरी उन्मूलनका लागि सङ्घर्ष समिति र नेपाल सरकारबिच २०७० साल जेठ २४ गते भएको १० बुँदे सहमति अनुसार कार्यान्वयन गरेमा मुक्त कमलरीले न्याय पाउन सक्ने उनको भनाइ छ । यस्तै मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले मुक्त कमलरीका समस्याको दिगो समाधानका लागि प्रदेश सरकार र स्थानीय तहमा मुक्त कमलरी कार्यविधि बनाउन आवश्यक रहेको बताइन् । 

सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाए पनि लुम्बिनी प्रदेश सरकारले आलटाल गरिरहेको गुनासो उनको थियो  । यस्तै स्थानीय तहस्तरीय मुक्त कमलरीको पहिचान गरेर लगत लिई स्थानीय तहमा परिचयपत्र वितरण गर्नुपर्ने उनले बताइन् । उनले सिप तथा आयआर्जनका कार्यक्रममा मुक्त कमलरीलाई विशेष स्थान दिनुपर्ने बताइन् । 

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले २०७० सालदेखि अहिलेसम्म मुक्त कमलरीका समस्या जस्ताको तस्तै देखिएको आफूले पाएको बताइन् । उनले भनिन, “मुक्त कमलरीलाई आत्मनिर्भर बनाउन सिपमूलक तालिमका लागि सबै पालिकाले सहयोग गर्नु पर्छ । हाम्रो पालिकाभित्र रहेका मुक्त कमलरीलाई सिप तथा क्षमता विकास तालिममा सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्छु ।” उनले कुन तालिम लिँदा आफ्नो जीवन सहज हुने हो, त्यसको पहिचान गरी पालिकामा आउन मुक्त कमलरीलाई अनुरोध गरिन् । उनले भूमिहीन कमलरीले जग्गा प्राप्तिका लागि आवाज उठाउनु आवश्यक रहेको बताइन् । उनले परिचयपत्रका लागि स्थानीय तहलाई जिम्मेवारी दिने हो भने आफू पहल गर्न तयार रहेको समेत बताइन् ।

गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरीले आफ्नो पालिकाबाट मुक्त कमलरी सशक्तीकरणका लागि विविध कार्यक्रम गर्दै आएको बताइन् । उनले हरेक वर्ष मुक्त कमलरीको क्षमता विकास कार्यक्रममा सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया