नेपालगञ्ज : नेपालगञ्जको बागेश्वरी मन्दिर नजिकै रहेको हिन्दुहरूको आस्थाको केन्द्र जुँगे महादेव मन्दिरको निर्माणमा ढिलाइ हुँदा जनतामा आक्रोश बढ्दै गएको छ । दुई वर्ष बितिसक्दा पनि मन्दिर निर्माणको कामले गति लिन नसकेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका, बागेश्वरी गुठी कार्यसमिति, ठेकेदार र राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
धार्मिक अगुवा राजकुमार रौनियारका अनुसार, ६ महिनामा सम्पन्न हुनुपर्ने मन्दिर निर्माणको काम वर्षौंसम्म लम्बिदा साउन महिनामा भगवान शिवको पूजा गर्नुपर्ने धार्मिक कार्यसमेत प्रभावित भएको छ । “मेयर, उपमेयर, ठेकेदार र गुठी कार्यसमितिका सबै राजनीतिक दलको भागबण्डामा रमाएर बसेका छन् । साउन महिना लागिसकेको छ, तर मन्दिर निर्माणको काम सुस्त छ । जनताको आस्थामाथि बेवास्ता गर्नु गलत हो,” रौनियारले भने ।
साउन महिनामा शिवभक्तहरूले जल चढाएर भगवान महादेवको पूजा गर्ने परम्परा छ । तर, मन्दिर निर्माणमा भएको ढिलाइका कारण यो वर्ष पनि भक्तजनहरूले पूजा गर्न नपाउने अवस्था सिर्जना भएको छ । स्थानीयवासीले जनप्रतिनिधि र ठेकेदारको जवाफदेही नहुनु र कामप्रति बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । “सनातनी हिन्दुहरू एकजुट नहुँदा हाम्रो आस्थामाथि खेलवाड भइरहेको छ । यो बेवास्ताको पनि हद हुन्छ,” स्थानीय प्रेम कश्यपले गुनासो गरे ।
स्थानीयले बागेश्वरी गुठी कार्यसमितिमाथि पनि राजनीतिक दलहरूको भागबण्डाको प्रभाव परेको आरोप लगाएका छन् । स्थानीयवासीले मन्दिर निर्माणको कामलाई तीव्रता दिन र साउन महिनाभित्र मूर्ति स्थापना गराइदिए श्रद्धालुहरु, शिवभक्त गणहरुको आस्थाको सम्मान पनि हुने बताए । “यसपटक पनि जनताको आस्थालाई बेवास्ता गरियो भने जनप्रतिनिधि र मन्दिर समितिले आक्रोशको सामना गर्नुपर्नेछ,” रौनियारले भने ।
नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर निर्माणको ढिलाइबारे कुनै आधिकारिक जवाफ दिएको छैन । स्थानीयवासीले अब पनि निर्माण कार्यले गति नलिए कडा कदम चाल्ने चेतावनी दिएका छन् । सनातनी हिन्दुहरूको पवित्र पर्व साउनमा मन्दिर निर्माण सम्पन्न नहुँदा जनताको धार्मिक भावनामाथि ठूलो आघात पुगेको उनीहरूको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार