Listen LIVE

बाँकेमा बिना अनुमति प्रदर्शन, जुलुस तथा कार्यक्रम गर्न रोक

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले अबदेखि प्रशासनको पूर्व–अनुमति बिना कुनै पनि प्रदर्शन, जुलुस, र्याली वा सार्वजनिक कार्यक्रम गर्न नपाइने जनाएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै कार्यालयको स्वीकृति वा अनुमति नलिई कुनै पनि किसिमका विरोध कार्यक्रम, सभा, जुलुस वा प्रदर्शन गरिएको पाइएमा त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी आयोजक स्वयंले लिनु पर्ने चेतावनी दिएको छ ।

उक्त सूचना प्रशासकीय अधिकृत विष्णु साहनीको हस्ताक्षरमा जारी गरिएको हो । सूचनामा भनिएको छ, “जिल्ला प्रशासन कार्यालयबाट पूर्व–स्वीकृति नलिई कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन वा विरोध कार्यक्रम नगर्न नगराउन सबैमा अनुरोध गरिन्छ ।”

प्रशासकीय अधिकृत साहनीका अनुसार हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सर्वपक्षीय बैठकको निर्णयअनुसार यस्तो कदम चालिएको हो । उनले बिना अनुमति प्रदर्शन वा जुलुस आयोजना गर्नेहरूमाथि कानुनअनुसार कडा कारबाही हुने पनि चेतावनी दिएका छन् ।

यसैबीच, गत शुक्रबार नेपालगन्जको फुलटेक्रा क्षेत्रमा दुर्गा मूर्ति विसर्जनको क्रममा फोहोर फाल्ने घटनालाई लिएर उत्पन्न विवाद दुबै पक्षबीच सहमति र मिलापत्रमार्फत समाधान भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी प्रमुख एसपी अंगुर जिसीका अनुसार फोहोर खसाल्ने व्यक्तिले “जानीजानी नभएको गल्ती” भन्दै क्षमा मागेपछि दुबै पक्षबीच मिलापत्रमा हस्ताक्षर गरी विवाद टुंग्याइएको हो ।

उनले जिल्लामा भएका अन्य विवादित घटनाहरूको समेत अनुसन्धान भइरहेको र दोषी प्रमाणित हुनेलाई कानुनी दायरामा ल्याइने बताए ।

त्यसैगरी, दुर्गा मूर्ति विसर्जनका क्रममा भएको झडपपछि जारी गरिएको निषेधाज्ञा अझै कायम रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । निषेधाज्ञा नेपालगञ्ज उपमहानगरपालिका–१४, १५ र २३, डुडुवा गाउँपालिका–६ तथा नरैनापुर गाउँपालिका–५ मा लागू गरिएको छ ।

प्रतिक्रिया