Listen LIVE

बाँकेमा बढ्दै बसाइँसराइ, सबैभन्दा बढी कोहलपुरमा

नेपालगञ्ज : बाँकेमा पछिल्ला वर्षहरुमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा जिल्लामा बसाइँ सरेर आउने र जिल्लाबाट बसाइँ सरेर बाहिरी जिल्ला जाने दुवै थरी नागरिकको सङ्ख्यामा वृद्ध भएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०९७ परिवार बाँके आएका छन् । २०९७ परिवारका ६३९६ जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी १००३ परिवारका २९४६ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका छन् ।

आर्थिक वर्ष २०८०–०८१ मा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०३२ परिवार बाँके आएका थिए । २०३२ परिवारका ६०८० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका थिए । यसैगरी ९०३ परिवारका २६४५ जना सदस्य जिल्ला छाडेर अन्यत्र गएका थिए । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइ गरेर आउने र जाने दुवै थरीको सङ्ख्यामा वृद्धि भएको हो ।

बाँकेका आठ स्थानीय तहमध्ये बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउने नागरिकमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकामा आएका छन् । तथ्याङ्कअनुसार जिल्ला बाहिरबाट बसाइँसराइ गरेर बाँके जिल्लाका विभिन्न पालिकामा आउने नागरिकको सङ्ख्यामध्ये सबैभन्दा बढी कोहलपुरमा आएको पाइएको हो ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराइ गरेर आउनेको सङ्ख्या सबैभन्दा धेरै कोहलपुरपछि क्रमशः बैजनाथ, नेपालगञ्ज, खजुरा, राप्तीसोनारी, डुडुवा, नरैनापुर र जानकी रहेका छन् । कोहलपुरमा गत आवमा ६८२ परिवारका १९९० जना नागरिक बसाइँसराइ गरेर आएको कोहलपुर नगरपालिकाका एमआइएस अपरेटर रोशन चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वर्षमा २८७ परिवारका ८२३ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएका थिए ।

बैजनाथमा गत आवमा ५३२ परिवारका १६३२ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएको र १४६ परिवारका ४३८ सदस्यहरू बसाइँ सरेर अन्यत्रै गएको पञ्जीकरण शाखा प्रमुख यमुनाकुमारी शर्माले जानकारी दिइन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा गत आर्थिक वर्षमा ५२० परिवारका १६१५ जना सदस्य बसाइँ सरेर आएको नेपालगञ्ज उपमहानगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारी अमरकुमार चिडिमारले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा नेपालगन्जबाट ३०१ परिवारका ८७१ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका हुन् ।

खजुरा गाउँपालिकाका एमआइएस अपरेटर नर्वदा दाहालका अनुसार खजुरामा २०३ परिवारका ६७१ जना सदस्यहरू बसाइँसराइ गरेर आएका छन् । उक्त आवमा १२४ परिवारका ३७४ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् ।

त्यसैगरी राप्तीसोनारीमा ११६ परिवारका ३५८ जना सदस्य बसाइँ सरेर आएको र १०० परिवारका २८३ जना सदस्य बसाइँ सरेर अन्यत्र गएको एमआइएस अपरेटर कुमार थापाले जानकारी दिए ।

डुडुवा गाउँपालिकामा गत आवमा ३४ परिवारका ९५ सदस्य बसाइँ सरेर आएको पालिकाले जनाएको छ । पालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार उक्त आवमा ३७ परिवारका १२२ जना सदस्य बसाइँसराइ गरेर बाहिर गएका छन् ।

नरैनापुरमा १० परिवारका २८ जनाले बसाइँ सरेर आएको र ८ परिवारका २९ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको पञ्जीकरण शाखाका एमआइएस अपरेटर गोविन्दप्रसाद गोडियाले जानकारी दिए ।

जानकी गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवमा सात जना सदस्य बसाइँसराइ गरेर आएका छन् भने ६ जनाले बसाइँ सरेर बाहिर गएका छन् । प्राप्त तथ्याङ्कमा परिवार दर्ता सङ्ख्या उल्लेख गरिएको छैन ।

आर्थिक वर्ष २०८०–०८१ मा कोहलपुरमा ७६१ परिवारका २१६४ जना, नेपालगञ्जमा ५३३ परिवारका १६७८ जना, बैजनाथमा ३६६ परिवारका ११५६ जना, खजुरामा २४४ परिवारका ७३३ जना, राप्तीसोनारीमा ११२ परिवारका ३०१ जना, डुडुवामा शून्य जना, जानकीमा १ परिवारका ४ जना र नरैनापुरमा १५ परिवारका ४४ जना गरी कुल २०३२ परिवारका ६०८० जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए ।

त्यसैगरी, कोहलपुरबाट २५४ परिवारका ६९९ जना, नेपालगञ्जबाट ३१२ परिवारका ९६८ जना, बैजनाथबाट १४६ परिवारका ४०० जना, खजुराबाट ९७ परिवारका २८६ जना, राप्तीसोनारीबाट ८२ परिवारका २०१ जना, डुडुवाबाट ४ परिवारका १६ जना, जानकीबाट २ परिवारका ६ जना र नरैनापुरबाट ६ परिवारका १९ जना गरी कुल ९०३ परिवारका २६४५ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया