नेपालगञ्ज : साउदी अरेबियाको मक्का मदिनामा हज गर्न यस वर्ष बाँकेबाट १५५ जना इस्लाम धर्मावलम्बी साउदी अरेबिया प्रस्थान गर्न लागेका छन् । हज इस्लाम धर्मावलम्बीको लागि जीवनमा एक पटक गर्नु पर्ने अनिवार्य धार्मिक यात्रा हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार हजमा जानेमध्ये ७६ जना महिला र ७९ जना पुरुष छन् । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बाँके जिल्लाबाट यसपटक १५५ जनाले हज गर्ने अवसर पाएको जानकारी दिए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले यात्रुहरूको सफल यात्रा तथा सुस्वास्थ्यको कामना गर्दै हजको आध्यात्मिक महत्व र सामाजिक सद्भाव सुदृढ गर्न यो अवसर महत्वपूर्ण हुने बताए ।
हज समितिका अनुसार पहिलो चरणमा जेठ ३ गते शनिबार ५५ जना हज यात्री, एक जना एम्बेसीका प्रतिनिधि र दुई जना हज समितिका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया प्रस्थान गर्नेछन् । दोस्रो चरणमा जेठ ४ गते आइतबार ११८ जना यात्रु, एक जना एम्बेसी प्रतिनिधि र एक जना हज समिति सदस्य साउदी जानेछन् । त्यसपछि जेठ ५ गते थप ५ जना र जेठ ७ गते बुधबार बिहान थप २ जना साउदी अरेबिया जाने कार्यतालिका रहेको छ ।
देशभरिबाट २ हजारभन्दा बढी आवेदन परेका थिए भने १ हजार १७१ जनाले हजमा जाने अनुमति पाएका छन् । उनीहरू ११ चरणमा मई १७ देखि २२ तारिखसम्म काठमाण्डौबाट सिधै साउदीको जेद्दातर्फ जानेछन् । यात्रुहरू जुन २० देखि २५ सम्म स्वदेश फर्किने छन् । प्रति यात्री हज खर्च ३ लाख ७० हजार रुपैयाँ रहेको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार