नेपालगञ्ज : वर्षा शुरु भएसँगै नेपालगञ्जका नालाको सफाइ तीव्र पारिएको छ।
नालामा फोहर भरिएर जाम हुँदा वर्षाको समयमा पानीको निकास रोकिएर डुबान हुने हुँदा सो रोक्न उपमहानगरनगरका नालाको सफाइ कार्यलाई हाल आएर तीव्र पारिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले वर्षा शुरु हुनुभन्दा पहिले नै उपमहानगरका सबै ठुला नाला नाली र ढल निकासको जामलाई सफा गर्ने कार्य सुरु गरेको नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले बताए।
उनले वर्षाको समयमा डुबान हुने समस्याबाट मुक्ति पाउन गत वर्ष पनि नेपालगञ्ज उपमहानगरपालिकाले वर्षा अगावै नाला सफाइको काम पुरा गरेको जनाउँदै यस पटक पनि वर्षा भन्दा अघि नै सबै नालाको सफाइ पुरा गरिने बताए।
सुर्खेतरोडको कर्णाली बैंक नजिकको ठुलो नालाको निकास फराकिलो पार्ने र सफा गर्ने तथा गणेशमान चोक पूर्व क्षेत्रको नालाको सफाइ गर्ने कार्य सम्पन्न भएको छ।
जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गर्ने कार्य भइरहेको छ। नाला सफाइ कार्यको अनुगमन पनि निरन्तर भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार