कालीकोट : जिल्लाको पालाँता गाउँपालिका सिधा सडक सम्पर्कबाट अझै पनि जोडिन सकेको छैन । कर्णाली नदीपारि बस्ती भएकाले पलाँता गाउँपालिका सडक सम्पर्कबाट वञ्चित भएको हो ।
२०७६ फागुन १ गते तत्कालीन गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले तेलका खाली ड्रम बिछ्याएर कर्णाली नदीमाथि गाडी राखेर नदी पार गरेर आफ्नै यातायात सञ्चालनमा ल्याएका थिए । बमको कार्यकालभरि पलाँताका बासिन्दाले पालिकाभित्र यातायातको सुविधा पाए पनि पछिल्लो समयमा भने उक्त सेवा बन्द भएको छ ।
कर्णाली नदीमा पुल नबनेका कारणले पलाँताका बासिन्दाले गाउँपालिकाभित्र यातायातको सेवा पाउन सकेको छैन । पलाँता गाउँपालिका–२ का गोरेबहादुर बमले २०७६ फागुनयता २०७९ सालको असारसम्म यातायात सेवा पाए पनि त्यसयता भने पूर्णरूपमा बन्द भएको गुनासो गरे ।
पलाँतामा अन्य सार्वजनिक यातायातबाट सेवा लिनका लागि कर्णाली नदीमा पुल छैन । पुलको अभावले गर्दा यहाँका बासिन्दा झोलुङ्गे पुलको यात्रा गरेर कर्णाली कोरिडोर हँुदै सदरमुकाम मान्म, सुर्खेत नेपालगञ्जको यात्रा गर्ने गरेका छन् । कर्णाली नदीमा पुल बनाउने सुरसार न सङ्घीय न प्रदेश सरकारले गरेका छैनन् । पलाँताको घाटाचौरमा फेरी जडान गर्ने भनेर रकम विनियोजन भए पनि काम भने अझै हुन सकेको छैन ।
पलाँतामा अघिल्लो कार्यकालमा सबै ठाउँमा सडक पुगेको थियो । २०७९ सालमा निर्वाचित सरकारले उक्त सडकलाई मर्मत गरेर मोटरसाइकल सञ्चालन हुनेसम्म बनाएको छ । कर्णालीपारि तारिएका दुई वटा ट्याक्टरले सामान ढुवानी गरिरहेका छन् भने त्यही सामानमाथि यात्रु बसेर जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् ।
पलाँता गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले कर्णाली नदीमा पुल नभएकै कारणले सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गर्न तेलका खाली ड्रममाथि गाडी राखेर कर्णाली नदीमा डुङ्गा बनाई दुई गाडी गाउँपालिका पुर्याइएको बताए । त्यहाँ लगिएका गाडी बिग्रेपछि मर्मत गरिएको थियो ।
दुई वटा गाडी मर्मत गरेर एउटा गाडी प्रमुख प्रशासकीय अधिकृत चढ्ने र अर्को गाडी गाउँपालिका अध्यक्ष चढ्ने बनाइएको छ । यस्तो समयमा कम्तीमा गाउँपालिकाले आफ्ना गाडी मर्मत गरेर पालिकाभित्र सञ्चालन गरेर भए पनि स्थानीय बासिन्दालाई सेवा दिनुपर्ने हो । कोही बिरामी हुँदासम्म यो समयमा स्ट्रेचरमा राखेर अस्पताल पुर्याउनुपर्ने अवस्था छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार