Listen LIVE

कला संस्कृति जोगाउन महोत्सव

नेपालगञ्ज : नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेले नेपालगञ्जमा महोत्सव गर्ने भएको छ । महासङ्घले नेपालगञ्जको वौद्ध गुम्बामा एक पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कुराको जानकारी दिएको हो ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा लगायतका सम्बन्धित सबै कुरारु पछिल्लो समयमा हराउँदै जान थालेपछि यसलाई संरक्षण, जगेर्ना र प्रवर्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपालगञ्जमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

‘विश्वभरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभूषा, भाषा, संस्कृति’ भन्ने मूल नाराका साथ यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगञ्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ सञ्चालन गर्न लागिएको अध्यक्ष थापामगरले जानकारी दिए ।

कला तथा संस्कृति संरक्षणसहित संस्थाको भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरिने उनले बताए । अध्यक्ष थापामगरका अनुसार औद्योगिक तथा व्यापारिकसहित महोत्सवमा २५० स्टल रहनेछन् । 

महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृतिसम्बन्धी पौराणिक कला जातीय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने तथा जातिय खाना प्रदर्शनी गरिने पनि अध्यक्ष थापामगरले जानकारी दिए ।

महोत्सव सफल पार्नका लागि अध्यक्ष डम्बरबहादुर थापा मगरको संयोजकत्वमा मूल आयोजक समिति र सचिव राजन रानामगरको संयोजकत्वमा सचिवालय गठन गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कृष्ण पुनमगरको संयोजकत्वमा सल्लाहकार उपसमिति, भूपेन्द्र पुनमगरको संयोजकत्वमा सुरक्षा उपसमिति, अजय पुनमगर (गोपाल)को संयोजकत्वमा आर्थिक उपसमिति, सङ्गीता चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गनबहादुर गुरुङको संयोजकत्वमा झाँकी र्याली व्यवस्थापन उपसमिति, सुन्दर गुरुङको संयोजकत्वमा सांस्कृतिक उपसमिति, आइत पुनमगरको संयोजकत्वमा खानेपानी तथा शौचालय उपसमिति, जनक पहराई मगरको संयोजकत्वमा स्वयंसेवक उपसमिति र अशोक थापामगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

महोत्सव अवधिभर तीन लाख दर्शकले मेला अवलोकन गर्ने र पाँच करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया