नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५२५ जनालाई उद्धार गरिएको छ । शान्ति पुनःस्थापना केन्द्रले गत आर्थिक वर्षमा ३९९ जनाको उद्धार गरेको जनाएको छ ।
यस्तै चालू आर्थिक वर्षको चार महिनामा १२६ जनाको उद्धार गरेको जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले जानकारी दिइन् । गत आर्थिक वर्षमा ३०३ जनालाई सिधै अभिभावकको जिम्मा लगाइएको थियो भने ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पुर्याइएको थियो ।
संस्थाले गत आर्थिक वर्षमा ८ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरेको थियो भने एक जनालाई अर्को पुनःस्थापना गृहको जिम्मा लगाइएको थियो । यो अवधिमा संस्थाले १२ हजार २ सय ३३ जनालाई परामर्श दिएको जनाएको छ । यी मध्ये ९ हजार ३ सय ९४ जनालाई गत आर्थिक वर्षमा र २ हजार ८ सय ३९ जनालाई चालू आर्थिक वर्षभित्र परामर्श दिइएको चदाराले जानकारी दिइन् ।
जिल्लाभित्र मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्दै आइरहेको शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगञ्जले आज संस्था र संस्थाको कामका बारेमा सरोकारवालाबाट अनुगमन तथा निरीक्षण गराउने क्रममा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो ।
अनुगमनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा कुमारी पुरी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका अधिकृत धनराज शाही, आइसिपीमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक युवराज खड्का, इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक किरण प्रकाश मल्ल, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो ।
त्यसक्रममा शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले संस्थाले गरिरहेको काम तथा उद्धार र पुनःस्थापना संयन्त्रबारे जानकारी गराएका थिए । शान्ति पुनः स्थापना गृहले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार