Listen LIVE

बाक्लो कुहिरोका कारण नेपालगञ्जबाट हुने हवाइ उडान अवरुद्ध

नेपालगञ्ज : बाक्लो कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार नेपालगञ्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । 

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार मङ्गलवार विहानैबाट लागेको बाक्लो हुस्सु र कुहिरो तथा चलेको शीतलहरले नेपालगञ्ज बिमानस्थल बन्द रहेको हुँदा कुनै पनि हवाइ उडान हुन नसकेको हो । 

हुस्सु र कुहिरोका कारण ४०० देखि ६०० मिटर मात्र भिजिबिलिटी हुँदा विमानस्थल बन्द रहेको र सोही कारणले नेपालगञ्जबाट पहाडी जिल्ला र काठमाडौंका लागि हुने कुनै पनि उडान मङ्गलबार नभएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । 

हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा उडान शुरु गर्न नसकिएको विमानस्थल टावरले जनाएको छ । नेपालगञ्ज विमानस्थलको टावरले दिएको जानकारीअनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा मङ्गलबार दिउँसोसम्म ६०० भन्दा बढी भिजिबिलिटी नभएकाले उडान सुरु गर्न नसकिएको हो । 

विमानस्थल बन्द रहेकाले यहाँबाट पहाडि जिल्लाका लागि बिहान हुने सबै उडान रद्द गरिएका छन् । काठमाडौंका लागि हुने सबै उडान अवरुद्ध भएका छन् । सोमवार पनि दिउँसो १ बजेर ३० मिनेटपछि मात्र नेपालगञ्ज विमानस्थल खुलेपछि हवाई उडान भएका थिए । त्यसअघि बिहानका सबै उडान अवरुद्ध भएका थिए । 

नेपालगञ्जका लागि काठमाडौंबाट बिहान ७ बजेर २० मिनेटमा बुद्ध एअरको जहाज उड्ने नियमित तालिका भएपनि नेपालगञ्ज विमानस्थल बन्द रहेका कारण हालसम्म पनि उड्न नसकेको बुद्ध एअर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले बताए । 

उनले नेपालगञ्ज विमानस्थल खुलेपछि मात्र काठमाडौंबाट जहाज उडाइने जानकारी गराए । नेपालगञ्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दैआएको छ । यस्तै नेपालगञ्जबाट पहाडी जिल्लामा पनि बिहान बढी उडान हुने गरेका छन् । 

नेपालगञ्जबाट हवाई उडान अवरुद्ध भएपछि काठमाडौ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु समस्यामा परेका छन् । टिकट लिएका अधिकांश यात्रुहरु जहाजको प्रतीक्षामा विमानस्थलमा छन् ।

प्रतिक्रिया