हुम्ला : हुम्ला जिल्लाका बेरोजगार महिलालाई ढाकाको कपडा बनाउन सिकाइएको छ । जिल्लामा पहिलो पटक ढाका बुनाइ तालिम प्रदान गरेर स्वरोजगार बनाउनुका साथै ढाकाका कपडा बनाउन तालिम प्रदान गरिएको हो ।
तीन महिना ढाका बुनाइ तालिम लिनुभएकी सिमकोट गाउँपालिका–५ की रमनी बोहोराले ढाकाको कपडाबाट बनाइने लत्ताकपडा बुन्न सिकेको बताइन् । यो तालिम लिइसकेपछि अब स्वरोजगार बन्न सहज भएको र आफूले छिट्टै व्यवसाय पनि सुरु गर्ने जानकारी उनले दिइन् ।
सिकेको सिपले व्यवसाय सञ्चालन गरेर ढाकाको लत्ताकपडा उत्पादन गर्ने र त्यसको बजारीकरणका लागि सरोकारवाला निकायले सहयोग गरिदिन उनले आग्रह गरिन् ।
उपभोक्ता हक हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर विष्टले जिल्लाका बेरोजगार महिलालाई स्वरोगारी सिर्जना गर्नका लागि तीनमहिने ढाका बुनाइ तालिम प्रदान गरिएको बताए । तालिम सिप विकास तथा स्वरोगारमूलक कार्यक्रमबाट प्रदान गरिएको हो । यस व्रmममा महिलालाई ढाकाको डमरु, जाली, आरा, धार, गोल माछीकाँडे, मन्दिर बुट्टामा सल, दोसल्ला, थान कपडा, टोपी कपडा र रुमाल बुनाइ सिप सिकाइएको छ । ढाकाका विभिन्न कपडा पनि तयार पारिएका छन् । यसका लागि कौशिलाकुमारी बारघरे प्रशिक्षण दिएका थिए ।
१२ जना सहभागीलाई अनुदानमा तानलगायत बुनाइका सामग्री ७० प्रतिशत अनुदानमा सहयोग गरिने छ । तालिमका लागि आवश्यक पर्ने कच्चा पदार्थ र तानका लागि आवश्यक सामग्री खरिद गर्न एक लाख ७२ हजार खर्च भएको छ । तालिमको लागि जम्मा खर्च भने पाँच लाख ४१ हजार पाँच सय रुपैयाँ भएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बेरोजगार महिलाले सिप सिकेको र अब व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्न सहज भएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार