Listen LIVE

बाँके प्रहरीद्वारा उल्लेखनीय प्रगति हासिल

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले मंसिर महिनामा अपराध अनुसन्धान, नियन्त्रण, शान्ति सुरक्षा तथा नागरिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी इकाईहरूबाट सम्पादन गरिएका कार्य तथा गतिविधिबारे जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंसिर महिनामा कुल १७१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दा मध्ये जघन्य तथा अति गम्भीर प्रकृतिका १० वटा र अन्य गम्भीर अपराध ५६ वटा रहेका छन् भने ४६ वटा सामान्य अपराध दर्ता भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा मुद्दामा ८ जनालाई पक्राउ गरिएको छ । यस्तै आर्थिक अपराधतर्फ ४१ वटा घटना दर्ता भएका छन् ।

चालु मुद्दामा १३९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक चासोका १४ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । सम्पत्ति शुद्धिकरण सम्बन्धि भने मंसिर महिनामा कुनै पनि मुद्दा दर्ता नभएको जनाइएको छ । फैसला कार्यान्वयनतर्फ ४७ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ती प्रतिवादीहरूबाट कुल ३४ वर्ष ८ महिना १६ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ४० लाख ३५ हजार ३८८ रुपैयाँ बराबरको बिगो तथा क्षतिपूर्ति असुल गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ मंसिर महिनामा ११६ वटा उजुरी दर्ता भएका छन् । ती मध्ये ७८ वटा उजुरी फछ्र्योट भएका छन् भने ३८ वटा उजुरी फछ्र्योट हुन बाँकी छन् । पीडित तथा पीडकको उमेर समूहका आधारमा गरिएको विश्लेषण अनुसार १८ देखि २५ वर्ष उमेर समूहका ३७ जना र २६ देखि ३९ वर्ष उमेर समूहका ७९ जना रहेका छन् ।

हराएका तथा फेला परेका व्यक्तिहरूको विवरण अनुसार ४० जना महिला र ७ जना पुरुष हराएको उजुरी परेकोमा २३ जना महिला र ४ जना पुरुष फेला परेका छन् । हालसम्म १७ जना महिला र ३ जना पुरुष फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घरेलु हिंसातर्फ ५९ वटा उजुरी दर्ता भएका छन्, जसको प्रकृति झैँ–झगडा रहेको छ । ती मध्ये ३३ वटा उजुरी मिलापत्र गराई वा अदालत पठाइएको छ । स्थानीय तहको आधारमा छुट्टै तथ्याङ्क विश्लेषण भने नभएको प्रहरीले जनाएको छ । ठाडो उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ४१२ वटा उजुरी परेका छन् । ती मध्ये २२३ वटा उजुरी फछ्र्योट भएका छन्, ३ वटा उजुरी सम्बन्धित निकायमा पठाइएको छ भने १८६ वटा उजुरी फछ्र्योट हुन बाँकी छन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका ८ वटा उजुरीमध्ये २ वटा फछ्र्योट भएका छन् र ६ वटा बाँकी छन् ।

लागुऔषध नियन्त्रणतर्फ मंसिर महिनामा ब्राउन सुगर १६६ ग्राम ४१० मिलिग्राम, ड्रामाडोल ११०० क्याप्सुल, नाइट्राजेपाम ३५ ट्याब्लेट र कोरेक्स ३०० मिलिलिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

आत्महत्या सम्बन्धि घटनातर्फ मंसिर महिनामा कुल ११ वटा घटना दर्ता भएका छन् । आत्महत्या गर्नेहरू मध्ये ९ जनाले झुन्डिएर र २ जनाले विष सेवन गरेर ज्यान लिएका छन् । लिङ्गका आधारमा ६ जना पुरुष र ५ जना महिला रहेका छन् । उमेर समूहका आधारमा २६ देखि ३५ वर्ष उमेर समूहका ८ जना पुरुष र ४६ देखि ६० वर्ष उमेर समूहका ३ जना महिला रहेका छन् ।

मंसिर महिनामा घटेको प्रमुख अपराध घटनाको विवरण दिँदै जिल्ला प्रहरी कार्यालय बाँकेले मंसिर १० गते बिहान करिब ३ बजे बैजनाथ गाउँपालिका–२ पितमारी बस्ने १९ वर्षीय नारायण परियारले खजुरा गाउँपालिका–६ बस्ने करिब २२ वर्षीया देवी क्षेत्रीको बैजनाथ गाउँपालिका–१ सल्यानी टोलस्थित मिनी गाभर होमस्टेमा कर्तव्य गरी हत्या गरेको र शवलाई होमस्टेबाट करिब ७ सय मिटर उत्तरतर्फ देउराली हरियाली सामुदायिक वनको खोल्सामा लुकाई राखेको अवस्थामा फेला परेको जनाएको छ । उक्त घटनामा संलग्न अभियुक्त नारायण परियारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

अपराध न्यूनीकरणका लागि मंसिर महिनामा विद्यालय तथा समुदायस्तरमा ६५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १४१४ जना महिला र १४०० जना पुरुष सहभागी भएका थिए । अनुचित लेनदेन नियन्त्रणतर्फ भने मंसिर महिनामा मिलापत्र वा फछ्र्योट भएका निवेदन नभएको प्रहरीले जानकारी दिएको छ ।

शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ मंसिर महिनामा ९२८ पटक पिकेट, २३७८ पटक ग्रामीण गस्ती (क्च्ए), ३७७ पटक चेकिङ र २ पटक ग्रामीण गस्ती (ीच्ए) परिचालन गरिएको छ । बन्द, चक्काजाम, आन्दोलन, मेला, पर्व तथा जात्रा जस्ता विशेष परिस्थितिमा भने कुनै उल्लेखनीय प्रहरी परिचालन नभएको जनाइएको छ । प्रहरी परिचालनका क्रममा मानवीय वा भौतिक क्षति, घाइते वा मृतक, अश्रुग्यास प्रहार तथा प्रहरीका सामग्री वा सवारी साधनमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

सवारी दुर्घटनातर्फ मंसिर महिनामा १०१ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा १५५ वटा सवारी साधन संलग्न रहेका छन् भने ४ जनाको मृत्यु र १४२ जना घाइते भएका छन् । दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गति, चालकको लापरबाही, यान्त्रिक कारण र मादक पदार्थ सेवन प्रमुख कारण देखिएका छन् । चेकिङका क्रममा २३०७ वटा सवारी साधन कारबाहीमा परेका छन्, जसबाट १९ लाख १२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

अवैध हातहतियार तथा गोलीगठ्ठा नियन्त्रणतर्फ मंसिर ८ गते राति करिब ११ः३० बजे नेपालगन्ज उपमहानगरपालिका–२ न्युरोडस्थित फुटसल नजिकको खाली मैदानमा बेवारिसे अवस्थामा रहेको ७.६५ एमएमको एक थान पेस्तोल, दुई थान गोली र एक थान म्यागजिन बरामद गरिएको छ ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ मंसिर महिनामा करिब ४३ लाख ९८ हजार ८२५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । सो क्रममा ८ जना व्यक्ति र १ वटा सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया