Listen LIVE

विश्व बाल दिवसमा वक्तृत्वकला प्रतियोगिता

नेपालगञ्ज : बाँके युनेस्को क्लबले विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता बर्दियाको बढैयाताल गाउँपालिकामा सम्पन्न गरेको छ । 

बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाको आर्थिक सहयोग र बढैयाताल गाउँपालिकाको समन्वय तथा गाउँपालिकास्तरीय युवा सञ्जालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । 

सो प्रतियोगितामा परियोजना सञ्चालित ६ वटा विद्यालयका बालबालिकाहरूको सहभागिता रहेको थियो । 

बढैयाताल गाउँपालिका वडा नं ६ का वडाध्यक्ष शुक्रराज सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा भगवती माध्यमिक विद्यालयका विकास अधिकारी प्रथम, ज्ञानज्योति माविका खिमा गन्धर्व दोस्रो, सरस्वती माध्यमिक विद्यालयका निश्चल परियार तेस्रो र सरस्वती माविका त्रिशला रेग्मीले सान्त्वना स्थान प्राप्त गरे ।  

त्यसैगरी, गौरिशंकर माध्यमिक विद्यालयको बाल क्लबले बाँके युनेस्को क्लब, विद्यालयका शिक्षकहरू र विद्यार्थीहरूको सहकार्यमा खेलकुद र गणित रिलेदौड  प्रतियोगिता आयोजना गरेको थियो जसमा पहिलो स्थान सुस्मिता लोनीया, दोस्रो स्थान बन्दना यादव र तेस्रो स्थान शीतल राढले प्राप्त गरे । 

सोही प्रकारले गुलरिया नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय सम्भुसरण माविमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको सशक्त बालिका परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले बताए । 

विजेता विद्यार्थीहरूलाई परियोजनाअन्तर्गत शैक्षिक सामग्री प्रदान गरिएको थियो । यस्तै, नेपाल राष्ट्रिय शम्भुसरण माध्यमिक विद्यालयले आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूकोलागि चित्रकला प्रतियोगिता आयोजना गरी विजेता विद्यार्थीहरूलाई थप प्रोत्साहन स्वरूप शैक्षिक सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया