Listen LIVE

वर्माले शुरु गरे नेपालगञ्जमा व्यावसायिक अम्बा खेती

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ बनघुस्राका ३३ वर्षीय युवा सुनिल वर्माले नेपालगञ्जमा व्यावसायिक रूपमा अम्बा खेती सुरु गरेका छन् ।

‘जय नेपाल कृषि फार्म’ नामक कृषि फर्ममार्फत वर्माले ३३ कट्ठा जमिन भाडामा लिएर तीन वर्ष अघिदेखि व्यावसायिकरूपमा अम्बाको खेती सुरु गरेका हुन् । “नेपालगन्जमा कसैले अम्बालाई व्यावसायिकरूपमा खेती गरेको पाइनँ, म पहिलेदेखि नै कृषि काम गर्न इच्छुक थिएँ, मनमा केही नयाँ गर्ने इच्छा जाग्यो, व्यावसायिक तरीकाले अम्बाको खेती गर्नुपर्छ भन्ने लाग्यो ।” वर्माले भने, “अनलाइनबाटै जानकारी लिए अनी बिरुवा मगाएँ र लगाएँ ।”

वर्माले पाँच सय अम्बाको बिरुवा, पाँच सय आँप लगायत लिची, कटहर, मेवा, कागतीलगायतका बिरुवा मगाएको बताए । “कृषिमा लाग्ने भइसकेपछि नजिकै एक जनासँग ३३ कट्ठा जमिन भाडामा लिएँ, तारबार गरेँ, ल्याएका बिरुवाहरू त्यही जग्गामा लगाएँ, अम्बाले गत वर्षदेखि फल दिन सुरु गरेको छ ।” उनले भने, “अम्बा गत वर्षदेखि फल्न सुरु गर्यो, यो वर्ष पनि फलेको छ, तर बिक्री गर्न र बजारीकरणका लागि अझैसम्म पूरा जानकारी छैन, फार्म अवलोकन गर्न आउनेहरूले यहीँबाट खरिद गरेर लैजाने गर्नुभएको छ, अर्को वर्षदेखि व्यावसायिक रूपमा बजारमा लैजाने लक्ष्य लिएको छु ।”

पाँच सय बिरुवा लगाए पनि अहिले साढे तीन सय जति मात्र अम्बाको बिरुवा रहेको उनले बताए । “लगाएका सबै बिरुवा बाँचेनन्, कतिपय मरे, कति भाँच्चिए, अहिले साढे तीन सय जति बिरुवा छन्, अम्बा मात्र नभएर अन्य फलफूलका बिरुवाले पनि फल दिन सुरु गरेका छन् ।” उनले भने, “सबै बिरुवामा फल लागेका छन् तर किरा र चराचुरुङ्गीबाट जोगाउन गाह्रो रहेछ, जोगाउनका लागि किटनाशक औषधी छर्ने गरेको छु ।”

अम्बा वर्षमा दुई पटक फल लाग्ने भएकाले पनि आफूले यो व्यवसायमा हात हालेको उनले बताए । “उत्पादन भएको अम्बालाई बजारसम्म पुर्याउनका लागि योजना बनाइरहेको छु, भारत र चाइनाबाट नेपालगञ्ज बजारमा अम्बा आउने गरेको छ ।” उनले भने, “बाहिरबाट आउने अम्बालाई विस्थापित गरी स्थानीय उत्पादनलाई नै बजारसम्म लैजानका लागि अहिले प्रचारप्रसार र प्रमोसनको काम गरिरहेको छु ।”

परिवारका अन्य सदस्यहरू पनि कृषि पेसामै आबद्ध भएका कारण परिवारका सदस्यले नै हेरचाह गर्दै आएको वर्माले बताए । “काम गराउनका लागि अहिले मान्छे नै पाइँदैनन्, सबै युवा जति रोजगारी खोज्दै विदेश गएका छन्, फार्मलाई जोगाउनका लागि सिसी क्यामेरा जडान गरेको छु, परिवारका अन्य सदस्यहरूले सहयोग गर्दै आउनुभएको छ ।” वर्माले भने, “मलाई भने विदेश जाने इच्छा जागेन, नेपालमै बसेर केही पेसा व्यवसाय गर्छु भन्ने सानैदेखि मनमा थियो, युवाशक्ति जति देश बाहिर गएर नेपालमा कसले काम गर्ने ? युवाहरूले आफ्नै देशमा सानै भए पनि केही न केही पेसा व्यवसाय गर्नु जरुरी छ ।”

कृषि व्यवसायबाटै दीर्घकालीन रूपमा देशमै टिक्न र अर्थ तथा रोजगारमा टेवा पुर्याउनका लागि आफूले व्यावसायिकरूपमा कृषि कार्य रोजेको वर्माको भनाइ छ ।

प्रतिक्रिया