नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा मतदाता नामावली अद्यावधिक कार्य तीव्र गतिमा सञ्चालनमा रहेको छ।
जेन–जी आन्दोलनपछि गत असोज ६ गतेदेखि सुरु भएको नामावली अद्यावधिक अभियानबाट असोज मसान्तसम्म मात्रै १ हजार ४७ जना नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार नयाँ मतदाता थप्ने कार्य अहिले पनि निरन्तर जारी छ। उनले भने, “अहिले दर्ता गराउनेमा अधिकांश युवा पुस्ता छन्, जसले पहिलो पटक मतदान गर्ने अवसर पाउनेछन्।”
जिल्ला निर्वाचन कार्यालय बाँकेले मतदाता दर्ताका लागि आवश्यक कागजातमा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य गरेको छ। विवाह भई आएका महिलाका हकमा विवाह दर्ता प्रमाणपत्र र अन्य जिल्लाबाट आएका व्यक्तिहरूका लागि समेत कागजातका आधारमा दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
निर्वाचन अधिकारी शाहीका अनुसार बाँकेमा हालसम्म ३ लाख ३३ हजार ९ सय ३४ मतदाता दर्ता भएका छन्। तीमध्ये १ लाख ६९ हजार ८ सय ७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला, र ९ जना अन्य रहेका छन्।
मतदाता नामावली अद्यावधिकसँगै त्रुटि सच्चाउने, स्थान परिवर्तन गर्ने र नयाँ नाम दर्ता गर्ने कार्य अनलाइन प्रणालीमार्फत पनि भइरहेको छ। असोज महिनामा मात्रै ६१ जनाको त्रुटि सच्याइएको र ५७ जनाको स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
बाँकेका हालसम्म दर्ता भएका मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका क्षेत्रका बढी छन्। मतदाता नामावलीका लागि अन्तिम चरणमा फोटो खिच्ने कार्य भने जिल्ला निर्वाचन कार्यालयमै पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार