नेपालगञ्ज : आफ्नो पुख्र्यौली बाजा सारङ्गी बजाएर पेट पाल्ने गन्धर्वको पेसा लोप हुन थालेपछि दुई छाक टार्न पनि समस्या हुन थालेको उनीहरूको गुनासो छ । कोहलपुर नगरपालिका–११ का ५९ वर्षीय गोपीलाल गन्धर्वले अहिले पनि आफ्नो पुख्र्यौली बाजा सारङ्गी बजाइरहेका छन् । लामो समयदेखि उनको परिवारको जीविकोपार्जन यही परम्परागत पेसाबाट चलेको उनले बताए ।
उनको अनुभवमा पहिले गन्धर्व समुदायका मानिसलाई समाजले ‘सूचनाको दूत’ का रूपमा मानसम्मान दिन्थ्यो तर आज सो सम्मान हराउँदै गएको र कतिपयले उनीहरूलाई ‘माग्न आउने’ भनेर अपमानितसमेत गर्ने गरेका छन् ।
गोपीलालका तीन छोरा र दुई छोरी छन् । छोराहरूलाई यो पेसामा खासै रुचि छैन । उनी भन्छन, “हामीले जस्तो गरी छोराले यो पेसा समात्दैनन् किनभने हाम्रो पुर्खाले पाल्दै आएको परम्परागत पेसालाई नयाँ पुस्ताले साथ दिँदैन ।” उनी मात्र नभएर यस्तै दुःखका कथा लिएर ६२ वर्षीय प्रेमबहादुर गन्धर्व पनि बाँके, बर्दिया, गुल्मी, पाल्पालगायतका ठाउँमा पुगेर सारङ्गी रेट्दै हिँड्ने गर्थे । समयको परिवर्तनसँगै सारङ्गी बजाउँदै जिउने गन्धर्व समुदायका लागि नयाँ पुस्तामा यो पेसा ओझेलमा परेको छ ।
बाँकेको गन्धर्व बस्तीमा जम्मा २०७ घरधुरी छन् । यहाँका गन्धर्व समुदायको पहिचान सारङ्गीसँग जोडिएको भए पनि अब यो बाजा बजाउन चाहने युवा कम छन् । अटो चलाउने, श्रमिक काम गर्ने जस्ता अन्य पेसामा लाग्दै गर्दा, उनीहरूको परम्परागत सङ्गीत बिस्तारै हराउँदै गएको छ ।
गन्धर्व समुदायको सांस्कृतिक सम्पदा जोगाउन संस्थागत पहल आवश्यक भएको सुशील गन्धर्व बताउँछन् । “कोहलपुरमा केही होटेल तथा रेस्टुराँहरूले साङ्गीतिक कार्यव्रmममा सारङ्गी बजाउने अवसर दिएका छन्,” उनले भने, “तर ती कार्यक्रममा केहीले मात्र अवसर पाएका छन् ।”
कोहलपुरका अगुवाले गन्धर्वको पुख्र्यौली पेसा जोगाउन सरकार र स्थानीय सङ्घ संस्थाले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । परम्परागत पेसा र सांस्कृतिक सम्पदाको संरक्षणमा राज्यले योगदान दिन नसक्ने हो भने एक दिन सारङ्गी मात्र होइन, गन्धर्व समुदायको सांस्कृतिक पहिचान नै लोप हुने खतरा बढेको स्थानीय जितबहादुर थापा बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार