Listen LIVE

सिमलताल दुर्घटना : आज विहानैदेखि खोजीकार्यमा जुट्यो भारतीय टोली

चितवन : अघिल्लो शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजीमा चार गोताखोरसहित १२ जनाको भारतीय टोली पनि सहभागी भएको छ । शनिबार चितवन आइपुगेको उक्त टोली आइतबार बिहानदेखि खोजी कार्यमा जुटेको हो । 

भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिकसहितको टोली खोजीमा आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु संकेत गर्न सक्ने प्रजिअ यादवले बताए ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिंदुरेगैराको लेदोसहितको पहिरोमा बगेर गत असार २८ देखि दुईवटा बस र यात्रु हराइरहेका छन् । घटनाकै दिनदेखि खोजीमा सेना र सशस्त्र प्रहरीको गोताखोर टोली प्रविधिसहित निरन्तर खटेको छ ।

नेपाली टोलीले तीन सय मिटरसम्मका वस्तु संकेत गर्ने क्षमता भएको सोनारसमेत प्रयोग गरेर खोज्दा पनि बस पत्ता लागेको छैन । भारतीय टोली अनुभवी भएका कारण केही न केही नतिजा आउने अपेक्षा गरेको एक सुरक्षा अधिकारीले बताए ।

प्रतिक्रिया