नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेमा एक हजार दुई सय लिटर भारतीय दूध नष्ट गरेको छ । नेपालगञ्ज र डुडुवाको खडैचा नाकाबाट भित्रिएको दूध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
३० नं. का गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीका अनुसार शुक्रवारयता नेपालगञ्ज नाकाबाट साढे सात सय लिटर र खडैचा नाकाबाट साढे चार सय लिटर दूध नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
सशस्त्र प्रहरीले नेपालगञ्ज नाकाबाट भित्रिएको भारतीय दूध समातेर क्वारेन्टाइनमा प्रक्रिया मिलाएर नष्ट गरिरहँदा भारतीय प्रहरीले नेपाल प्रहरीसँग गरीबको दूध भएकाले छोडिदिन आग्रह गरिरहेको थियो । उता गरीबलाई हेर्दा यताका गरीबले दुःख पाउने भएकाले छोड्न नसकिने कुरा गरिएको थियो ।
नेपाल सरकारले भारतबाट दूध तथा दुग्धजन्य पदाथ ल्याउन प्रतिबन्ध लगाएको छ । सरकारले प्रतिबन्ध लगाएपनि भारतीय दूध दैनिक भित्रिरहेको व्यवसायीहरुको गुनासो छ । बाँके दुग्ध व्यवसायी संघका कार्यवाहक सचिव चेतनारायण शर्माले दूध भित्रिरहँदा यहाँका किसान मारमा परेको बताए ।
भारतीय दूध मुख्य नाकाबाटै भित्रिने गर्दछ । साइकलमा क्यान राखेर दूध ल्याउने गरिन्छ । सुरक्षा निकाय, भन्सार, क्वारेन्टाइन मुख्य नाकामै निगरानी गरिदिँदा भारतीय दूध रोकिने व्यवसायीहरुको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार