Listen LIVE

अन्नपूर्ण आधार शिविरबाट म्याराथन दौड शुरु

म्याग्दी : अन्नपूर्ण प्रथम हिमालको आधार शिविरदेखि पहिलो पटक म्याराथन दौड प्रतियोगिता शुरु भएको छ । मङ्गलबार बिहानदेखि आधार शिविरमा रहेको पञ्चकुण्ड तालबाट नारच्याङ गाउँसम्म म्याराथन प्रतियोगिता शुरु भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुगेको अवसरमा म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो ।

अन्नपूर्ण आरोहण गरेको दिन जेठ २० गते आज बिहान ५ बजेदेखि आधार शिविरबाट म्याराथन दौड प्रतियोगिता सुरु भएको म्याराथन दौड प्रतियोगिताका व्यवस्थापन संयोजक इन्द्रसिंह शेरचनले जानकारी दिए । उनका अनुसार आधार शिविरबाट सुरु भएको दौड भुस्केटमेला, गुफाफाँट, फुतफुते झरना, हुमखोला, छोटेपा हुँदै नारच्याङ गाउँ आएर समापन हुने छ । उहाँका अनुसार प्रतियोगितामा ४० जना सहभागी भएका छन् ।

नारच्याङको बेँसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको पालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

चार हजार एकसय ९० मिटर उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरदेखि नारच्याङसम्म मौरिस हर्जोग पदमार्गको ३० किलोमिटर दूरीमा म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको हो ।

म्याराथन दौड प्रतियोगितामा जिल्ला भित्रका स्थानीय तहबाट मात्र सहभागी भएका छन् । अन्नपूर्ण गाउँपालिका भित्र रहेका प्रत्येक वडाबाट पाँच–पाँच जना र अन्य स्थानीय तहबाट दुई–दुईजनाका दरले सहभागी भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने म्याराथन प्रतियोगिता व्यवस्थापन संयोजक शेरचनले जानकारी दिए ।

यही जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हीरक महोत्सवको आयोजना गरिएको छ । कार्यक्रममा आज प्रधानमन्त्री केपी शर्मा ओली आउँदै छन् ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएको छ ।

प्रतिक्रिया