नेपालगञ्ज : वर्षाको मौसममा अत्यधिक गर्मी समेत भएकोले बाँकेका विभिन्न अस्पतालमा भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड र पखालाका बिरामीको संख्या बढ्दै गएको छ।
नेपालगञ्जस्थित भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पताल, सिद्धार्थ अस्पताल, कान्ति आरोग्य अस्पताल, कोहलपुरस्थित मेडिकल कलेजको शिक्षण अस्पताल र विभिन्न क्लिनिकमा अहिले दैनिक पाँचदेखि एक हजारको हाराहारीमा मौसमी भाइरलका बिरामी उपचारका लागि पुग्ने गरेको ती अस्पतालले जनाएका छन्।
भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बर्षाको मौसमसँगै गर्मी पनि अत्यधिक भएकोले पछिल्लो केही दिनदेखि मौसमी रोगका बिरामी ठुलो संख्यामा उपचारका लागि अस्पतालमा आउन थालेको बताए।
उनले भेरी अस्पतालमा मात्रै भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखाला र निमोनिया जस्ता समस्या लिएर दैनिक तीन सय भन्दा बढी बिरामीहरु आउने गरेको बताए।
पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने र बान्ता एवं पखाला लाग्ने समस्या लिएर अस्पतालमा आउनेहरु बढ्दै गएको पाइएको सूचना अधिकारी डा. रिसालले बताए।
पछिल्लो समयमा जिल्लाका केही स्थानमा झाडा पाखालाका बिरामी पनि बढेकोले भेरी अस्पतालमा झाडा पखालाको छुट्टै वार्ड स्थापना गरेर अस्पतालमा आउने बिरामीको उपचार थालिएको उनले बताए।
सोही प्रकारले नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा पनि दैनिक दुई सय बढी मौसमी भाइरलका बिरामी बढ्दै गएको सो अस्पतालले जनाएको छ। अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले अहिले मौसमी भाइरलका बिरामी धेरै बढेको जनाउँदै अस्पतालले उनीहरुको उपचारमा विशेष ध्यान दिएको बताए।
नेपालगञ्ज उपमहानगर र कोहलपुरका अन्य विभिन्न अस्पतालले पनि मौसमी फ्लुका बिरामी बढेको जनाएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार