Listen LIVE

भारतको आसाम र मेघालयमा मौसम विभागको ‘रेड अलर्ट’

काठमाण्डौ : आउने साता भारतको उत्तर पूर्वी राज्यहरू आसाम र मेघालयमा अति भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन भारतको मौसम विभागले ‘रेड अलर्ट’ जारी गरेको छ ।

‘रेड अलर्ट’ ले मनसुनजन्य विपद्को उच्च जोखिमको संकेत गर्छ । यसैगरी उत्तर पूर्वी नागाल्याण्ड, मिजोराम, मणिपुर र त्रिपुरा राज्यमा पनि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अरुणाचल प्रदेश, पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डमा पनि अत्यधिक वर्षाको प्रक्षेपण गरिएको छ ।

केही दिनयता अत्यधिक भारी वर्षा सहितको बाढी तथा पहिरोले भारतको उत्तर पूर्वी राज्यहरूमा हजारौँ जनसङ्ख्या प्रभावित छन् । लगातार आरीघोप्टे वर्षा हुँदा मणिपुरमा मात्रै १९ हजार भन्दा बढी जनसङ्ख्या प्रभावित भएको द इन्डियन एक्सप्रेसले लेखेको छ । यसैगरी तीन हजार घरहरूमा क्षति पुगेको छ ।

लगातारको वर्षाले नेपालको पूर्वी सिमाना नजिकै पर्ने भारतीय सिक्किम राज्यको उत्तरी बेल्टको जनजीवन बढी प्रभावित रहेको टाइम्स अफ इन्डियाले लेखेको छ । सिक्किमको लाचेन, लाचुङ, गुरुदोङमार ताल, भ्याली अफ फ्लावर्स, तथा जेरो पोइन्ट लगायतका गन्तव्य स्थलहरूमा पनि अत्यधिक वर्षाले सयौँ सङ्ख्याका पर्यटकहरूलाई सास्ती भएको छ । त्यहाँको मन्गन जिल्लामा दुई वटा पुलहरू आंशिक क्षति पुगेको छ । बाढी पहिरोसितै बगेको अवरुद्ध भएको सडक भने सीमावर्ती सडक संस्थाले मर्मतसम्भार गरेर पुनः सञ्चालनमा ल्याइसकेको छ । टिस्टा नदीमा पानीको सतह बढ्दा फिदाङ सस्पेन्सन पुलमा क्षति भयो ।

केही दिनयताको लगातार वर्षातपछि आएको बाढी पहिरोमा परेर आसाम, अरुणाचल, मेघालय, मिजोराम र नागाल्याण्डमा कम्तीमा ३२ जना मानिसले ज्यान गुमाइसकेको इकोनोमिक्स टाइम्सले जनाएको छ । सरदरभन्दा आठ दिन अगावै प्रवेश गरेको मनसुनले सुरुवातमा भारतको दक्षिणी केरला, कर्नटका, महाराष्ट्र राज्यहरूमा जनजीवन प्रभावित पारेको थियो । मनसुन प्रवेश गरेको दोस्रो सातादेखि उत्तर पूर्वी राज्यहरूमा ठूलो मात्रामा धनजनको क्षति पु¥याएको छ ।

बाढी तथा डुबानमा परेका बस्तीका स्थानीयहरूलाई उद्धार गर्न सुरक्षा निकायहरू खटिएका छन् । ‘अपरेसन जल राहत –२’ नाम दिइएको उद्धार कार्य अन्तर्गत दोस्रो दिन सोमबार भारतीय तथा आसाम सेनाहरूले पूर्वी र पश्चिम इम्फालबाट ५०० जना भन्दा बढी स्थानीहरूको उद्धार गरिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

प्रतिक्रिया