नेपालगञ्ज : बाँकेका अस्पतालमा मनसुनजन्य रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्लाका विभिन्न अस्पतालहरूबाट प्राप्त भएको जानकारी अनुसार अत्यधिक गर्मीकै बिच केही दिन लगातार परेको वर्षाले जिल्लामा मनसुनजन्य रोगको सङ्क्रमण बढाएको हो ।
वर्षाको समयमा दूषित पानीका कारण झाडापखाला, टाइफाइड, ज्वरो आउने, टाउको दुख्ने, जन्डिस तथा छाला सम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीहरू बढ्न थालेको भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले बताए । उनले वर्षाका कारण हुने विभिन्न रोगका बिरामी केही दिन यता भेरी अस्पतालमा आउने क्रम बढेकोले सचेत रहन सबैलाई आग्रह गरे ।
डा. रिसालले थपे, “यस्तो बेला उमालेको वा क्लोरिन हालेर सफा पारेको पानी मात्र पिउनु पर्छ । त्यसैगरी सडेगलेका तथा बासी खाना खान हुँदैन । फलफूल तथा तरकारी शुद्ध पानीले सफा गरेर मात्र खानपर्छ ।“
सोही प्रकारले नेपालगञ्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले केही दिनयता वर्षाका कारण लाग्ने रोगहरू झाडापखाला, टाइफाइड र ज्वरो आएका बिरामीहरू अस्पताल आउने क्रम बढेको बताए । उनले मनसुनजन्य रोग लागेका बिरामीहरू दैनिक सय भन्दा बढीको सङ्ख्यामा अस्पतालमा उपचारका लागि पुगिरहेको बताए ।
वर्षाको समयमा खाना तथा पानीमा हेलचेक्र्याइँ गर्दा पानीजन्य रोगको सङ्क्रमण बढ्दा झाडापखाला, ज्वरो, टाउको दुख्ने लगायत समस्या देखिने गरेको चिकित्सकहरूको भनाइ छ । यस्तै, वरिष्ठ बालरोग विशेषज्ञ डा. शकील अहमदले वर्षाको बेला खासगरि बालबालिकालाई छिटो इन्फेक्सन हुने गरेको जनाउँदै अहिले त्यस्ता बिरामी बढ्दै गएको बताए ।
सोही प्रकारले नेपालगञ्ज, खजुरा, राँझा र कोहलपुरका पनि विभिन्न अस्पताल र क्लिनिकहरूले पनि वर्षा सुरु भएसँगै मनसुनजन्य रोगका बिरामीहरू अस्पताल आउने क्रम बढेको जनाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार