Listen LIVE

मानव बेचबिखनविरुद्ध नेपालगञ्जमा अन्तरक्रिया

चन्द्रलाल जैसी/नेपालगञ्ज : मानव बेचबिखनबिरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहयात्री नेपालको आयोजना जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोग र एनआरएएन नारि निकुञ्ज अष्ट्रेलियाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा मानव बेचबिखनविरुद्ध कडा कानुनी प्रावधानहरूको निर्माण र कार्यान्वयन आवश्यक भन्दै विभिन्न देशहरूले मानव बेचबिखनलाई गैरकानुनी र अपराध मान्ने कानुनहरू बनाई लागू गर्नुपर्नेमा जोड दिएका छन् । सहभागीहरुले जनतामा मानव बेचबिखनको खतराबारे सचेतना फैलाउन प्रचार–प्रसार अभियान सञ्चालन गर्न सुझाएका छन् । यसले सम्भावित पीडितहरूलाई जोगाउन र समाजलाई जागरूक बनाउन मद्दत पुर्याउँदै मानव बेचबिखनको शिकार भएका व्यक्तिहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाको व्यवस्था गर्नसक्ने औल्याइएको छ । 

कार्यक्रमका प्रमुख अथिती नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले मानव बेचबिखन रोकथाममा बाँके जिल्ला र नेपालगञ्ज उपमहानगरपालिकालाई खुल्ला सिमानाका कारण चुनौती रहेको बताए । उनले एक्लै कुनै पनि निकायले मात्र नभएर विभिन्न संघ संस्था, प्रहरी प्रशासन, मानव अधिकार कर्मीसँग हातेमालो गर्नुपर्नेमा जोड दिए । जघन्य अपराध र गल्ती गरेकलाई राजनीतिक बचाव र ढाकछोप गर्न नहुने भन्दै उनले मानव बेचबिखन बिरुद्धका सबै कार्यमा स्थानीय तहको हातेमालो गरेर अगाडी बढ्न आफु कटिबद्ध रहेको बताए ।

कार्यक्रमका बिशिष्ट अथिती साहयक प्रमुख जिल्ला अधिकारी जोहरा सिहं माझीले  पछिल्लो समय मानव बेचबिखनमा केही कमि र सुधार आएको बताए । उनले आर्थिक अभाव अशिक्षा बेरोजगारी र विभिन्न बहानामा ललाइ फकाइ गर्नुका साथै लोभ लालचमा पारेर बेचबिखन हुँदै आएको बताए । प्रशासनले सबै मानव बेचबिखन संघ संस्थासँग सहकार्य गर्दै आएको भन्दै उनले तस्कर र बेचबिखन गर्ने दलाललाई तत्काल कानुनी दायरा ल्याउन मानव बेचबिखन बिरुद्धको महान सहयात्रामा सवैलाई आ–आफ्नो तहबाट लाग्न आग्रह गरे । 

कार्यक्रममा बाँकेका डिएसपी नारायण डाँगीले मानव तस्करी र मानव बेचबिखन जघन्य अपराध रहेको भन्दै बाँके जिल्ला भारतसँग खुल्ला सिमाना रहेकोले मानव बेचबिखन रोक्न सकस रहेको जिकिर गरे । उनले बर्तमान समयमा मानव बेचविखन न्यूनीकरण रोकथामका लागि सबै बर्ग समुदाय र संघ संस्थासँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया