Listen LIVE

सात महिनाको शिशु मृत घोषणा, अन्त्येष्टिका क्रममा रोएपछि खुल्यो लापरबाही

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–५ डलैपुरका कमल ददेल र तारा कसेराले पहिलो सन्तान जन्माउने सपना देखिरहेका थिए। ताराको गर्भमा हुर्कँदै गरेको शिशुले परिवारमा खुसी, उत्साह र आशाको वातावरण बनाएको थियो। सबैजना त्यो दिनको प्रतीक्षामा थिए, जब शिशुले यस धर्तीमा पहिलो पाइला टेक्ने थियो र आमाबुबाले “आमा” र “बाबा” भन्ने पहिलो शब्द सुन्ने थिए।

गर्भावस्थाको सात महिना पूरा भएपछि माघ २५ गते बिहान अचानक तारालाई सुत्केरी व्यथा लाग्यो। उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालको प्रसूति वार्डमा भर्ना गरियो। माघ २८ गते बिहान करिब ८ बजे शिशु सामान्य अवस्थामा जन्मिएको परिवारले जनाएको छ। त्यो क्षण कमल र ताराका लागि जीवनकै सबैभन्दा खुसीको समय थियो।

तर त्यो खुसी धेरै बेर टिक्न सकेन। शिशु जन्मिएको केही समयमै ड्युटीमा रहेका चिकित्सकले शिशुको मृत्यु भइसकेको घोषणा गरे। सात महिनाको प्रतीक्षा केही मिनेटमै पीडामा परिणत भयो। कमल र ताराको अवस्था शब्दमा बयान गर्न नसकिने थियो। घरपरिवार स्तब्ध बन्यो र आँसु रोकिएनन्।

मृत घोषणा गरिएको शिशुको अन्त्येष्टि गर्न परिवार शिशुलाई लिएर डलैपुर फर्कियो। घर नजिकैको जंगलमा अन्त्येष्टिको तयारी हुँदै गर्दा अचानक शिशु रोएको आवाज आएको परिवारले जनाएको छ। मृत घोषणा गरिएको शिशु जीवित रहेको थाहा पाएपछि उपस्थित सबै स्तब्ध भए। परिवारमा फेरि केही क्षणका लागि आशा पलायो।

परिवारले तत्काल शिशुलाई नेपालगञ्जस्थित संजिवनी अस्पतालको एनआईसीयूमा भर्ना ग¥यो। तर भर्ना गरेको करिब २४ घण्टापछि चिकित्सकले पुनः शिशुको मृत्यु भएको जानकारी दिएका छन्। दोस्रो पटक पनि भाग्यले धोका दिएको अनुभूति कमल र ताराले गरेका छन्।

संजिवनी अस्पतालका चिकित्सकका अनुसार शिशुलाई लामो समयसम्म चिसो अवस्थामा राखिएको, समयमा सालनाल नकाटिएको तथा आवश्यक सरसफाइ नगरिएको अवस्था पाइएको थियो। चिकित्सकले यी कमजोरी भेरी अस्पतालको गम्भीर लापरबाहीका कारण भएको र ढिलाइ भइसकेकाले अत्यधिक प्रयास गर्दा पनि शिशुलाई बचाउन नसकिएको जानकारी दिएका छन्।

घटना सार्वजनिक भएपछि भेरी अस्पतालले पीडित परिवारलाई अस्पतालमा बोलाएर “सात महिनाको बच्चा बच्दैन भन्ने जानकारी छैन” र “अस्पताललाई बदनाम गराउन खोजिएको हो” भन्दै उल्टै दबाब र धम्की दिएको पीडित परिवारको आरोप छ।

यस घटनापछि भेरी अस्पतालको लापरबाही, गैरजिम्मेवार व्यवहार र जवाफदेहितामाथि चौतर्फी विरोध सुरु भएको छ। पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषी स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायलाई कडा कारबाही गर्न माग गरेका छन्।

यसैबीच, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुबेदीले जीवित शिशुलाई मृत घोषणा हुनु दुःखद भएको स्वीकार गरेका छन्। उनले उपचारमा संलग्न चिकित्सकबाट “जीवनका संकेत नदेखिएपछि मृत घोषणा गरिएको जानकारी प्राप्त भएको” बताए। घटनाको छानबिनका लागि डा. विवेक महतोको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिँदै समितिको प्रतिवेदन आएपछि दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

डा. सुबेदीले अस्पतालमा देखिएको लापरबाहीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना पुनः नदोहोरिने गरी सेवा सुधारका लागि आवश्यक कदम चालिने प्रतिवद्धता पनि जनाएका छन्।

यता, पीडित परिवारले आज नेपाल संवाद क्लबमा पत्रकार सम्मेलन आयोजना गरी उपचारमा संलग्न चिकित्सक तथा नर्सलाई निलम्बन गरी कारबाहीको मागसहित आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको पीडित कमल ददेलले जानकारी दिए।

प्रतिक्रिया