Listen LIVE

यात्रु लुट्न खोज्ने चार जना हतियारसहित पक्राउ

नेपालगञ्ज : नेपालगञ्ज बसपार्कमा यात्रुहरूलाई लुटपाट गर्ने प्रयास गरेको आरोपमा चार जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गत मङ्गलबार काठमाडौँ जान तयारी अवस्थामा बसमा बसेका यात्रुहरूलाई ६–७ जनाको समूहले धाकधम्की, डरत्रास र हातपात गर्दै लुटपाट गरेको थियो ।

प्रहरीका अनुसार उक्त समूहले यात्रुहरूको साथबाट ५९ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा केही जिन्सी सामान जबरजस्ती लुटेको जानकारी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल र खुकुरीसमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा नेपालगञ्जका रामु परियार, सुवास बिष्ट, सञ्जय क्षेत्री तथा कोहलपुरका सन्दीपजंग क्षेत्री रहेका छन् ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए ।

प्रतिक्रिया