काठमाण्डौ : इरानको राजधानी तेहरानबाट ११ नेपाली आइतबार राति मसद पुगेका छन् । इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएपछि उनीहरू करिब ९ सय किलोमिटरको यात्रा पार गर्दै इरानको अर्को सहर मसद पुगेका हुन् ।
‘हामी ११ जना सुरक्षित रूपमा आइतबार राति मसद आइपुगेका छौँ । बाटोमा अप्ठ्यारो झेल्नु परेन । हामी अहिले एउटा होटलमा बसेका छौँ,’ मसद पुगेका उदयपुरका हरि थापाले भने, ‘भारतले हामीलाई प्राथमिकतामा राखेर पठाउने आश्वासन दिएको छ । हामी उडानको प्रतीक्षामा बसेका छौँ ।’
उनीहरूका अनुसार उडानको समय भने निश्चित भइसकेको छैन । मसद पुग्नेमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, उनकी श्रीमती गायत्री कार्की थापा, बुटवलका विष्णुप्रसाद भुसाल, बुद्धि भुसाल, सागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल रहेका छन् ।
उनीहरूमध्ये विष्णुप्रसाद बन्जाडेको राहदानी नभएकोले उडान तत्काल सम्भव नभएको बताइएको छ ।
दोहास्थित नेपाली दूतावासका अनुसार ११ जना नेपालीसँग समन्वय भइरहेको छ । उनीहरू ८ देखि २४ वर्षसम्म तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।
इरानको तेहरानमा अझै ५ जना नेपाली जेलमा रहेका छन् । उनीहरूलाई उद्धार गर्न प्रक्रिया भइरहेको दूतावासले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार