नेपालगञ्ज : यही मंसिर ६ गते शनिवार हुने धारा नेपालगञ्ज म्याराथनको ११औं संस्करणका लागि आइतवारदेखि दर्ता खुल्ला गरिएको छ ।
असोज मसान्तसम्मका लागि अर्लीबर्ड दर्ता अन्तर्गत हरेक दर्ता शुल्कमा २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । यसबर्ष म्याराथन ४२.१९५ किमी पुरुष खुल्ला, हामफ म्याराथन २१.०९७ किमी पुरुष तथा महिला खुल्ला, १० किमी पुरुष तथा महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्लास्तरीय), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्ला बाहिरका), ५ किमी कर्पोरेट रन, ३ किमी किड्स रन (८ देखि १२ बर्ष उमेर समुह), ३ किमी अभिभावक फन रन (सबै पेशा एवं व्यवसायका दौड्न मिल्ने), ३ किमी ह्वीलचेयर रन समावेश गरिएको छ ।
वल्र्ड रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यताप्राप्त नेपालको सहज रुट मानिने धारा नेपालगञ्ज म्याराथन, हाफ म्याराथन र र १० किमीतर्फ शीर्ष दश जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी ५ किमीमा शीर्ष पाँच जनालाई र ३ किमीतर्फ शीर्ष तीन जनालाई नगदसहित पदक, प्रमाणपत्रले पुरस्कृत गरिनेछ । नगद पुरस्कारका बारेमा चाँडै घोषणा गरिनेछ । यसबर्ष आयोजकले नगद पुरस्कारभन्दा पनि अन्तर्राष्ट्रिय एक्सपोजरमा बढ्ता ध्यान दिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । नेपाली धावक तथा व्यवस्थापनमा संलग्न व्यक्तिहरुलाई विश्व स्तरीय सडक दौडको अनुभव लिन आवश्यक रहेको जनाउँदै आयोजकले त्यसतर्फ गृहकार्य गरेको रेस डाइरेक्टर गुरुङको भनाइ छ ।
यसबर्ष नयाँ विधाका रुपमा पुरुषतर्फ समेत हाफ म्याराथन थप गरिएको छ भने वाकाथनको ठाउँमा ३ किमी फन रन समावेश गरिएको छ । यसैबीच चाँडोभन्दा चाँडो दर्ता गर्नका लागि आयोजकले विभिन्न आकर्षक अफर दिने तयारी गरेको छ । आयोजक धारा नेपालगञ्ज म्याराथनका लागि यती एयरलाइन्स अफिसियल एयरलाइन्स पार्टनरका रुपमा सम्झौता भइसकेको छ भने नेपालगञ्ज म्याराथनसँग जोडिएका सदस्यहरुलाई अन्तर्राष्ट्रिय एक्सपोजर भिजिटका लागि विभिन्न अवसरहरु सिर्जना गर्ने क्रममा तीन वटा वल्र्ड क्लास रनिङ इभेन्ट गरिरहेको बाङ्सेन रनिङ सिरिजसँग सम्झौता गरिएको छ ।
धारा नेपालगञ्ज म्याराथनमा अफिसियल दुरीका विजेतालाई उनीहरुको प्रदर्शनका आधारमा विभिन्न देशमा हुने रनिङ इभेन्टमा सहभागी गराउने तयारी आयोजकको छ । त्यसका लागि गम्भीर गृहकार्य भइरहेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । ‘धावकका लागि त अवसर हुन्छ नै, धारा नेपालगञ्ज म्याराथनको अभियानमा समर्पित हरेकका लागि अवसर सिर्जना गर्दैछौं ।’ संस्थापक ठकुरीले भने—‘धारा नेपालगञ्ज म्याराथन बाहिरबाट हेर्दा रनिङ इभेन्ट हो, तर यो आफैंमा समाज रुपान्तरणको अभियान हो ।’
दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहद् शान्ति सम्झौता गरेको दिन मंसिर ५ लाई स्मरण गर्दै नेपालगञ्जमा जातीय, धार्मिक र सम्प्रदायलाई एकै ठाउँमा ल्याउन प्रयास स्वरुप नेपालगञ्ज याराथनले २०७२ मंसिरमा आफ्नो यात्रा आरम्भ गरेको थियो । कोभिड १९ महामारीका बेला खेल गतिविधि बन्द हुँदासमेत नेपाल सरकारको प्रोटोकल पालना गरी यात्रालाई निरन्तरता दिइएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार