बैजनाथ (बाँके) : विद्यालयमा सुत्केरी बिदा, दीर्घ रोग, अध्ययन बिदा वा अन्य विभिन्न कारणले शिक्षक लामो समयसम्म अनुपस्थित हुँदा पठनपाठन प्रभावित हुने समस्यालाई समाधान गर्न बैजनाथ गाउँपालिकाले नयाँ अभ्यास सुरु गरेको छ। गाउँपालिकाले सूचीकृत स्वयंसेवक शिक्षकहरूलाई आवश्यकता अनुसार विद्यालयमा खटाउने व्यवस्था लागू गर्दै शैक्षिक गतिविधिलाई निरन्तरता दिने अभियान अघि बढाएको हो।
यसै क्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकाय ले संयुक्त रूपमा स्वयंसेवक शिक्षकहरूलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै जिम्मेवारी प्रदान गरेका छन्। कार्यक्रममा शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकाल ले विद्यालयमा शिक्षक अभावका कारण विद्यार्थीको सिकाइमा असर नपरोस् भन्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार कुनै विद्यालयमा शिक्षक लामो समय बिदामा बसेको अवस्थामा गाउँपालिकामा सूचीकृत स्वयंसेवक शिक्षकलाई तत्काल खटाएर पठनपाठनलाई नियमित बनाइनेछ। यसले विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै पछिल्लो समय विद्यालय सुधारका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। विद्यालय परिसरलाई आकर्षक र सिकाइमैत्री बनाउन फूलबारी तथा घर–बगैंचा सुधार कार्यक्रम सञ्चालन गरिएको छ भने जीर्ण अवस्थामा रहेका विद्यालय भवनहरूको मर्मत, रंगरोगन तथा भौतिक सुधारका कामहरू तीव्र गतिमा अगाडि बढाइएको छ।
त्यसैगरी उच्च शिक्षा अध्ययन गर्ने छात्राहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले शैक्षिक शुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। उक्त रकम सम्बन्धित कलेजको खातामा सिधै जम्मा गरिने व्यवस्था गरिएको छ। छात्राहरूको विद्यालय तथा कलेज आवतजावतलाई सहज बनाउन गाउँपालिकाले लेडिज साइकल वितरण कार्यक्रम समेत सञ्चालन गरेको थियो।
शिक्षासँगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिँदै गाउँपालिकाले विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। जिल्ला तथा प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने परम्परा स्थापित गरिएको छ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयहरूमा सूचना प्रविधिको प्रयोगलाई बढावा दिन प्रधानाध्यापकहरूलाई ल्यापटप वितरण, विज्ञान प्रयोगशाला स्थापना तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
गाउँपालिकाले आगामी दिनमा उच्च शिक्षा अध्ययनका लागि आफ्नै क्षेत्रमा क्याम्पस स्थापना गर्ने दीर्घकालीन योजना समेत अघि सारेको जनाएको छ। स्थानीय सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी र सुधारका कार्यक्रमहरूले बैजनाथलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने विश्वास व्यक्त गरिएको छ।
'शिक्षामा लगानी, भविष्यको सुनिश्चितता' भन्ने लक्ष्यसहित बैजनाथ गाउँपालिका शिक्षा क्षेत्रको समग्र विकासमा निरन्तर सक्रिय रहेको देखिन्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार