Listen LIVE

बर्दिया खाद्यद्वारा २६ हजार क्विन्टल धान खरिद

बर्दिया : खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरले शुक्रबारसम्म २६ हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य थियो ।

हालसम्म २६ हजार क्विन्टल धान खरिद भइसकेको खाद्य केन्द्रका प्रमुख कमल पाण्डेले बताए । ‘४ हजार क्विन्टल खरिदपछि बन्द हुने छ,’ उनले भने, ‘सरकारले ३० हजार क्विन्टल खरिदको कोटा निर्धारण गरेको छ ।’

खाद्य तथा व्यवस्था व्यापार केन्द्र, राजापुरले गत कार्तिक १९ गतेदेखि धान खरिद गर्दै आएको छ । यस वर्ष खाद्य केन्द्रले राजापुरबाहेक गुलरिया, शान्तिबजार र जयजगरमा धान खरिद डिपो स्थापना गरेको छ ।

कुपन प्रणाली लागू भएपछि पनि भीड थामिनसक्नु अवस्था आएपछि राजापुर खाद्य केन्द्रमा केही दिनका लागि धान खरिद रोकिएको थियो ।

धान बिक्री गर्दा किसानले वडाको सिफारिस, नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपिसहित बिक्री केन्द्रमा पेस गर्नुपर्ने हुन्छ । यस वर्ष सरकारले मोटा धान ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मसिनो ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा मूल्य तोकेको छ ।

प्रतिक्रिया