काठमाण्डौ : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोसँगै बगेर बेपत्ता भएको दुईवटा बस र त्यसमा सवार यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।
आज सयौँ सुरक्षाकर्मी परिचालन गरेर खोजतलास गरे पनि अवस्था पत्ता लाग्न नसकेको हो। बेपत्ता भएको बस र यात्रु खोज्नेक्रममा नदीबाट गोताखोर टोलीले एउटा बसमा लगाएको पर्दा निकालेको छ। चितवन प्रहरीले थाहाखबरलाई दिएको जानकारी अनुसार पर्दा वीरगञ्जबाट काठमाडौँ आइरहेको एञ्जल डिलक्सको रहेको जनाएको छ। यस्तै प्रहरीले खोजतलासका क्रममा बच्चाको एउटा सुरुवाल पनि फेला पारेको छ।
काठमाडौँबाट रौतहटको गौर जाँदैगर्दा पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्समा ३० जना यात्रु रहेको खुलेको छ। बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बसमा सवार तीन जना पौडिएर बाँच्न सफल भएका छन्। नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव पौडिएर निस्किएका हुन्। उनीहरुले बसमा करिब ३०–३५ जना रहेको बताएका छन्। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
यस्तै, पर्सा वीरगञ्जबाट काठमाडौँ आइरहेको एञ्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको यात्रुबाहक बसमा चालकसहित बसका तीन कर्मचारी, १४ जना यात्री र ७ जना भारतीय नागरिक गरी २४ जना रहेको खुल्न आएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए।
चितवनका प्रमुख जिल्ला अधिकारीले इन्द्रदेव यादवका अनुसार आज खोजी कार्य स्थगित गरिएको बताए। उनले भोलि बिहानबाट पुनः बेपत्ता बस र यात्रु खोज्न सुरु गरिने बताए। “नदीमा पानीको प्रवाह घटेको छैन। रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट तीन÷चार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन”, उनले भने। उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए।
उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिराले बगाएर त्रिशूलीमा बेपत्ता पारेको थियो। यात्रु कति छन् भनेर अझै यकिन गर्न सकिएको छैन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार