नेपालगञ्ज : जानकी गाउँपालिकाको समन्वयमा फातिमा फाउन्डेशनद्वारा आयोजना गरिएको लैंगिक हिंसा न्यूनीकरण तथा आत्मसम्मानसम्बन्धी ६ दिने तालिम सुरु भएको छ।
फाउन्डेशनकी अध्यक्ष मैमुना सिद्दिकीको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेंद्र चौधरी सहभागी रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै पत्रकार सन्ध्या गैरेले समयसँगै समाज अघि बढ्दै गए पनि हिंसाका घटना समेत बढ्दै गएको उल्लेख गरिन्। उनले वर्तमान अवस्थामा आत्मसम्मानलाई सर्वोपरि राख्दै लैंगिक आधारमा हुने हिंसा न्यूनीकरणमा सबैको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइन्।
कार्यक्रमकी अध्यक्ष मैमुना सिद्दिकीले फातिमा फाउन्डेशनले लामो समयदेखि महिलाको सशक्तीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको जानकारी दिइन्। उनले महिलाका हक–अधिकार सुनिश्चित गर्न तथा लैंगिक हिंसा न्यूनीकरणका विषयमा आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको स्पष्ट पारिन्।
प्रमुख अतिथि ज्ञानेंद्र चौधरीले गाउँघरमा अझै पनि लैंगिक हिंसा बढ्दो अवस्थामा रहेको औँल्याउँदै महिलालाई आत्मसम्मानको रक्षा गर्ने सीप र सचेतना प्रदान गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
फाउन्डेशनकी सचिव सुबेदाका अनुसार उक्त तालिम ६ दिनसम्म सञ्चालन हुनेछ र जानकी गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका महिलालाई सहभागी गराई सशक्त बनाउने लक्ष्य राखिएको छ। तालिमका प्रशिक्षक रविन्द्र ज्ञवाली रहेका छन्।
पहिलो दिन वडा नं. १ बाट कुल ३० जना महिलाको सहभागिता रहेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार