Listen LIVE

तरुण दलद्वारा गृहमन्त्रीलाई ज्ञापन, कडा कारबाहीको माग

नेपालगञ्ज : नेपाल तरुण दल बाँकेले बाँके प्रशासनमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलले आफ्ना कार्यकर्तामाथि धारिलो हतियार (खुँडा) प्रहार गरी गम्भीर घाइते बनाउनेलाई कडा कारबाहीका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । 

जिल्ला अध्यक्ष विरेन्द्र बहादुर शाहको नेतृत्वमा नेपाली कांग्रेस बाँके पार्टी कार्यालय नेपालगञ्जबाट शान्तिपूर्ण प्रदर्शनसहित निस्केको र्याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रशासन पुगेर सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीमार्फत गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको सचिव विनोद रिजालले जानकारी दिए ।

भदौ १ गते साँझ राप्तीसोनारी २ का सन्दीप विष्ट र बैजनाथ ७ का सुलभ मल्लमाथि ज्यान मार्ने उद्देश्यले १०–१५ जनाको एक समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको थियो । 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राप्तीसोनारी वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका ज्ञानेन्द्र राज वली ’ज्ञानु’, वडा नम्बर २ का अगैयाका नारायण डिसीसहित केहीलाई पक्राउ गरिसकेको छ । केही अझै फरार छन् । तरुण दलले घटनामा संलग्न सबैलाई कडा कारबाहीका लागि ध्यानाकर्षण गराएको हो । 

तरुण दलले उक्त समूहलाई पेशेबर आपराधिक समूहको संज्ञा दिँदै विगतमा पनि त्यस समूहबाट आपराधिक क्रियाकलाप हुँदा समेत मुद्दा कमजोर बनाएर रिहा गर्ने गरिएको स्मरण गराएको छ । घटनामा संलग्न पेशेबर अपराधीहरुलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । 

कुनै पनि बहानामा पनि मुद्दा कमजोर बनाई रिहा गर्ने चेष्टा नगर्न तरुण दलले चेतावनी दिएको छ । “घटनामा संलग्न पेशेबर अपराधीलाई बचाउने प्रयास गरिए नेपाल तरुण दल बाँके चुप लागेर बस्ने छैन,“ ज्ञापनपत्रमा भनिएको छ–“देशैभर आन्दोलन चर्काउन बाध्य हुनेछौं ।“

तरुण दलले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै औषधि उपचारको प्रबन्ध मिलाइदिन माग समेत गरेको छ । समाजमा शान्ति सुब्यवस्था कायम गर्न तथा पीडित परिवारको सुरक्षाका लागि पनि ध्यानाकर्षण गराइएको छ । घाइतेहरुको लखनउमा उपचार भइरहेको छ । 

ज्ञापनपत्र बुझाइसकेपछि आयोजित कोणसभालाई नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, तरुण दल अध्यक्ष शाह, क्षेत्र नम्बर २ का अध्यक्ष धनराज बर्मा, नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाह, घाइते विष्टकी आमा र श्रीमती तथा अर्का घाइते मल्लकी श्रीमतीले सम्बोधन गर्दै घटनामा संलग्न भएकालाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया