Listen LIVE

बाँकेको निकुञ्ज क्षेत्रबाट हतियारसहित शिकारी पक्राउ

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारी रंगेहात पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षका मोहन थारु पक्राउ परेका हुन् । 

कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री निवासी थारुलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए । उनको साथबाट गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद पनि गरिएको उनले बताए । पक्राउ परेका थारु विरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको छ । 

निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने गरेको शंकाको आधारमा निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिएका थिए । गस्ती टोलीले बुधबार राती १२ बजेतिर थारुलाई पक्राउ गरेको थियो । पक्राउ परेका थारु विद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया