Listen LIVE

बादी समुदायको मादल बनाउने पुर्ख्यौली पेसा सङ्कटमा

नेपालगञ्ज : समाजमा बढ्दै गएको आधुनिकताका नाममा पछिल्लो समयमा विभिन्न समुदायका पुर्ख्यौली पेसाहरू नै लोप हुन थालेका छन् । परम्परागत सीप बिक्न छाडेपछि पुर्ख्यौली पेसासँगै विभिन्न ठाउँका मौलिकता नै सङ्कटमा पर्न थालेको देखिएको हो । 

सोही क्रममा समाजमा अत्याधुनिक बाजागाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाहरू मादल, दमाहा, ट्याम्काको प्रयोग घट्न थालेपछि बादी समुदायको यी बाजा बनाउने परम्परागत पेशानै सङ्कटमा परेको कोहलपुर १३ भरैयाका पोस्ते बादीले बताए । 

उनले आफूले लामो समयदेखि मादल, दमाहा र काठका ठेकी बनाएरै आफ्नो जीविकोपार्जन गर्दै आएकोमा पछिल्लो समयमा आएर यी बाजाको बिक्रिनै घट्दै गएकोले पुर्ख्यौली पेशानै सङ्कटमा परेको बताए । 

अहिले बजारमा नयाँ नयाँ आधुनिक प्रविधिका बाजा गाजासहित मादल पनि हरेक पसलमा पाउन थालेपछि गाउँ घरमा बनाइएका मादलको माग घट्दै जाँदा मादल बनाउने पेसा बन्द गर्ने स्थितिमा पुगेको पोस्ते बादीको भनाई छ । उनले आफ्नो पिडा सुनाउँदै थपे–“हिजोआज बनबाट मादल बनाउने काठ ल्याउनै पाइँदैन, मादल बनाउने काठ नभएपछि काम नै बन्द हुन्छ । काम नहुँदा आम्दानी हुँदैन ।” 

केही वर्ष अघिसम्म परम्परागत मादल बनाउने पेसाबाट राम्रो आम्दानी हुने गरेकोले घर खर्च चलाउन सहज भए पनि अहिले बिक्री नहुँदा घर खर्च चलाउन धौ धौ परेको बादीको भनाई छ । 

काठ ल्याउन निकुञ्जले जङ्गल जान नदिएपछि जोखिमै मोलेर वन जङ्गलमा काठ लिन जाने गरेको उनले बताए । काठको मादल दमाहा बनाउने बादी समुदायलाई निकुञ्ज या सामुदायिक वनले निश्चित ठाउँमा सोही समुदायले सदुपयोग र संरक्षण गर्ने गरी बनको केही भाग छुटाइदिनुपर्ने सोही ठाउँका बादी समुदायका अर्का अगुवा अम्मर बादीले बताए । 

उनले एउटा दमाहा बिक्रीबाट आकार अनुसार पाँच हजारदेखि २५ हजारसम्म र मादल बनाएको मादलको साइज अनुसार दुई हजार ५०० देखि पाँच हजारसम्म लिने गरेको जनाउँदै तर खर्च र मेहनत जोड्दा ५०० मात्र बचत हुने गरेको बताए । 

कोहलपुर १३ भरैयास्थित बादी समुदायका घरहरूमा दमाहा, मादल मर्मतका लागि बाँके, बर्दिया सुर्खेतदेखि मानिसहरू आउने गरेका छन् । विशेष गरी चाडबाड नजिकिँदै गर्दा यस्ता सामान खरिद गर्न र बनाउन आउनेको सङ्ख्या बढी हुने गरेको छ । 

कोहलपुर नगरपालिका १३ मा २७ घरधुरी बादी समुदायको बस्ती भएको भरैयामा पोस्तेके बादी, अम्मर बादी, खम्मलाल बादी, बले बादी गरी चार जना पुराना पुस्ताले दमाहा, ट्याम्का र मादल बनाएर बादी समुदायको पेशालाई धान्दै आएका छन् । 

बादी समुदायका अरू व्यक्तिले विशेष गरी फलामबाट बनिने हँसिया, बन्चरो, हतौडा, खुर्पा, खुकुरीलगायतका सामान बनाउने आरनको पेशालाई अँगालेका छन् । (गोरखापत्रबाट)

प्रतिक्रिया