सुर्खेत : बालविवाह न्यूनीकरणका लागि कर्णाली प्रदेशमा धेरै कार्यक्रम तथा अभियान थालिए पनि अवस्था भने ज्युँका त्युँ रहेको छ । झन् बर्सेनि बालविवाह बढिरहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभाग नेपाल बहुसूचकाङ्क क्लस्टर सर्वेक्षण–२०७६ अनुसार बालविवाहको कुरूप तस्बिर सार्वजनिक गरिएको छ ।
पुरुष र महिला दुवैका लागि विवाह गर्न २० वर्ष उमेर पुग्नु पर्छ । उमेर नपुगी विवाह गर्नेको तथ्याङ्क कर्णालीमा डरलाग्दो छ । सर्वेक्षण अनुसार १५ वर्षमुनिका बालबालिकाको विवाह गर्ने सङ्ख्या नेपालभर ५.२ प्रतिशत रहेको छ । कर्णालीमा उक्त सङ्ख्या ८.४ प्रतिशत छ । नेपालभर १८ वर्षमुनि विवाह गर्ने बालबालिकाको सङ्ख्या २२.७ प्रतिशत छ भने कर्णालीमा ३४.६ प्रतिशत रहेको छ ।
नेपालभर १५ वर्षमुनि विवाह गर्ने बालिकाको सङ्ख्या ७.९ प्रतिशत रहेकोमा कर्णालीमा १५ वर्षमुनिका १२ प्रतिशत बालिकाले बालविवाह गरेको पाइएको छ । यस्तै नेपालभर १८ वर्षमुनिका ३२.८ प्रतिशत बालिकाले बालविवाह गरेका छन् भने कर्णालीमा ४४.३ प्रतिशत बालिकाले बालविवाह गरेको तथ्याङ्कले देखाएको छ । बालविवाह गर्नेमा बालिका जस्तै गरेर बालकको सङ्ख्या पनि उत्तिकै रहेको पाइएको छ ।
नेपालभर १५ वर्षमुनिका १.५ प्रतिशत बालकले बालविवाह गरेकोमा कर्णालीमा १.७ प्रतिशतले बालविवाह गरेका छन् । १८ वर्षमुनिका नौ प्रतिशत बालकले नेपालभर बालविवाह गर्दा कर्णालीमा १७ प्रतिशतले बालविवाह गरेका छन् ।
सर्वेक्षण अनुसार १५ देखि १९ वर्षको बालविवाहको तथ्याङ्कमा नेपालभर १२.८ प्रतिशतले बालविवाह गरेका छन् भने कर्णालीमा २०.८ प्रतिशतले बालविवाह गरेका छन् । यसै गरी सोही उमेर समूहका नेपालभर १९.३ प्रतिशत बालिकाले बालविवाह गर्दा कर्णालीमा २७.४ प्रतिशतले बालविवाह गरेको पाइएको छ । यसै गरी बालकको सङ्ख्या नेपालभर ५.३ प्रतिशत रहेको छ भने कर्णालीमा १२.१ प्रतिशत छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार