सल्यान : स्वास्थ्य सेवा कार्यालय सल्यान र स्थानीय युवाहरूको सक्रियतामा जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ।
नेपाल रेडक्रस सोसाइटी सल्यानले केही वर्षअघि रक्तसञ्चार केन्द्र सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल सल्यानको परिसरमा करिब २० लाख रुपैयाँ खर्चेर तीन कोठे भवन निर्माण गरेको थियो।
भवन निर्माण सम्पन्न भएपनि विभिन्न समस्याका कारण रेडक्रसले केन्द्र सञ्चालन गर्न सकेको थिएन। हाल सोही भवनमा जिल्ला अस्पतालले युवाहरूको सक्रिय सहभागितामा रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो।
रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि जिल्ला अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामी, विशेषगरी गर्भवती महिलाहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
यसअघि रगत आवश्यक परेमा बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीहरूले सामाजिक सञ्जाल र फोनमार्फत रक्तसमूह मिल्ने व्यक्ति खोज्नुपर्ने बाध्यता थियो।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा.अर्जुन बुढा मगरले अब रगतको अभावका कारण बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको बताए।
उनका अनुसार जिल्ला अस्पतालमा विगत एक दशकदेखि जटिल समस्या भएका गर्भवतीको शल्यक्रिया हुँदै आए पनि रगतको व्यवस्थापनमा समस्या हुने गरेको थियो।
२०४४ सालमा स्थापना भएको जिल्ला अस्पताल सल्यान सुरुमा १५ शय्याको भए पनि हाल ४० बेडमार्फत सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा मासिक ८ देखि १२ प्वाइन्टसम्म रगत खपत हुने गरेको र रक्तसञ्चार केन्द्रमा सङ्कलित रगत आवश्यकता भन्दा बढी भए अन्यत्र पठाउन सकिने व्यवस्था गरिएको डा.बुढा मगरले जानकारी दिए।
रक्तसञ्चार केन्द्रको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गरिएको र जिल्लाका सबै १० वटा स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए।
उद्घाटन कार्यक्रममा नेकपाका नेता तथा पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, पूर्व संविधानसभा सदस्य उमाकान्त शर्मा, नेकपाका नेता रमेश मल्ल, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले सबैको सामूहिक प्रयासबाट जिल्लामा लामो समयपछि ब्लड बैङ्क सञ्चालनमा ल्याउन सफल भएको बताउँदै आगामी दिनमा निरन्तर सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
सल्यानमा रक्तसञ्चार स्थापनाको लागि धेरै प्रयास गरेको सल्यान जेन्जीका संयोजक युवराज खडकाले ब्लड बैङ्कका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक सामग्री ल्याउन सफल भएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार