Listen LIVE

हलसम्म पनि फेला परेनन् दुईटै बस, खोजी जारी

चितवन : सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र बेपत्ता रहेका करिब ५० जना यात्रुको खोजी कार्य शनिबार पनि निरन्तर छ । शुक्रबार बिहानैदेखि खोजी कार्य भएपनि अहिलेसम्म एक जना यात्रुको शव फेला पर्नेबाहेक अरु केही भेटिएको छैन । दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरण समेत सार्वजनिक हुन सकेको छैन ।

’बेपत्ता बस र यात्रुको खोजीमा नेपालको सबै जनशक्ति र प्रविधि प्रयोग गरेका छौँ’

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बस र बेपत्ता यात्रुको खोजी कार्यका लागि नेपालमा भएको जलउत्पन्न विपद् उद्धारको जनशक्ति र प्रविधि सबै उपयोग गरिरहेको दाबी गरेका छन् ।

’हामीसँग देशभित्र भएको दक्ष जनशक्ति र प्रविधि यहाँ प्रयोग भएको छ । हिजो दिनभरको खोजी कार्यभन्दा आज हामीले रणनीति बदलेका छौँ । यो नदी साँघुरो, तर धेरै गहिरो छ । पानी धमिलो छ । गति धेरै छ । त्यसकारण गोताखोरहरुले पनि पानी भित्र गएर खोजी गर्न जोखिमपूर्ण अवस्था छ,’ यादवले भने, ’आज हामीले पानीमा प्रयोग हुने ड्रोन समेतको प्रयोग गरेर खोजी गरिरहेका छौँ ।’

उनका अनुसार शनिबार खोजी गर्ने क्रममा भारत विहारका ऋषिपाल साहको शव गोलाघाटमा भेटिएको छ । ’अहिले गोलाघाटमा ऋषिपाल साहको शव भेटिएको छ भने उहाँको परिवारले सनाखत समेत गरिसकेको छ,’ प्रजिअ यादवले भने ।

प्रतिक्रिया