Listen LIVE

नाइरोबी फ्लाई किराले छालामा सङ्क्रमण

धनगढी : नाइरोबी फ्लाई किराका कारण कैलालीका स्थानीयमा छालासम्बन्धी समस्या बढेको छ । बर्खायाम लागेसँगै छालामा सङ्व्रmमण (एलर्जी) हुने समस्या बढ्दो रूपमा देखिएको हो । 

नाइरोबी फ्लाई नामक किराका कारण सङ्क्रमण भइरहेको चिकित्सकले बताएका छन् । मानिसको शरीरमा पेडेरिन रसायन छाडेपछि छालामा जलन हुने, चिलाउने, छाला रातो हुने जनैखटिरा जस्तै खटिरा देखिने समस्या हुने गरेको जनाइएको छ । 

१२ देखि ३६ घण्टापश्चात् उक्त घाउबाट तरल पदार्थ चुहिने जस्ता लक्षणसमेत देखा पर्ने गरेको चिकित्सकको भनाइ छ । केही दिनयता नाइरोबी फ्लाई किराका कारण छालामा सङ्क्रमण बढ्दो रूपमा देखिएको स्किन केयर एन्ड एस्थेटिक सेन्टर प्रालिमा कार्यरत डा. सुमन सुवेदीले बताए । 

“अहिले नाइरोबी फ्लाई किराका कारण समस्या भएर उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दो छ,” उनले थपे, “दैनिक २५ जनाभन्दा बढी नै उपचारका लागि आइरहेका छन् ।” यो किराका कारण छालामा भएको सङ्क्रमण सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने जनाइएको छ । नाइरोबी फ्लाई किराका कारण भएको घाउ धेरै चिलाउने गरेको धनगढीकी पूजा चौधरीले बताइन् । किराका कारण हुने सङ्क्रमण आफूलाई पनि भएको जनाउँदै उनले भनिन, “यस्तो धेरैलाई भइरहेको छ । एक ठाउँमा सङ्क्रमण भएपछि त्यो अरूतिर पनि फैलिन्छ ।”

प्रतिक्रिया