Listen LIVE

‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा बागेश्वरी मन्दिरबाट सुरु

नेपालगञ्ज : नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्रा बागेश्वरी मन्दिरबाट सुरु गरिएको छ ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपाने, सांसद एवं राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले साइकल चलाएर टुर दि ठाकुरद्वाराको उदघाटन गरे ।

सो अवसरमा मन्त्री न्यौपानेले यसप्रकारको साइकल यात्राले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए । सांसद डा. राणाले टुर दि ठाकुरद्वाराजस्तै नेपालगन्जदेखि रारासम्मको कार्यक्रम बनाउदा अझ राम्रो हुने बताए ।

बांके र बर्दियाको धार्मिक पर्यटनस्थलको प्रचार प्रसारका लागि क्लवले बर्षेनि टुर दि ठाकुरद्वारा आयोजना गर्ने गर्दछ । यसपाली नेपाल, भारत र चीनका गरि १ सय ४० जना सहभागी रहेका छन् ।

नेपालगञ्जको प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरबाट सुरु भएको टुर दि ठाकुरद्वारा करिव सय किलोमिटरको यात्रा गरि बर्दियाको ठाकुरद्वारा पुगेर समापन हुनेछ ।

विश्वसाइकल यात्री पुष्कर शाहसहित भारतका २९ र चीनका एक जना टुर दि ठाकुरद्वारामा सहभागी छन् । साइकल इभेन्टमार्फत लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको घुमौ बर्दिया ठाकुरद्वारा २०२५ कार्यक्रमलाई सघाउ पुग्ने क्लवका अध्यक्ष प्रदीप सापकोटाले विश्वास व्यक्त गरे ।

टुर दि ठाकुरद्वारा कार्यक्रमले बांके र बर्दियाको धार्मिक पयर्टकलाई बढावा दिने गरेको कार्यक्रम संयोजक सुरेन्द्रदीप कार्कीले बताए ।

२७ लाख रुपैयाँ अनुमानित खर्च रहेको टुर दि ठाकुरद्वाराको रुट बागेश्वरी मन्दिरबाट शुरु भएर नेपालगन्ज बजार परिक्रमा पछि कोहलपुर, केदारेश्वर धाम बांसगढी, सतखलवा, बैदी, बबईहुँदै ठाकुरबाबा मन्दिरसम्मको सय किलोमिटर रहेको छ ।

प्रतिक्रिया