नेपालगञ्ज : आगामी फागुन अन्तिम साता नेपालगञ्जमा लुम्बिनी कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो ।
नेपाली राष्ट्रिय महिला फुटवल टिमकी पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बापो सुब्बाले संयुक्तरुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका छन् ।
लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रीक रातो रङ्ग समेटिएको छ ।
नेपालगञ्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागिता रहनेछ । महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपूर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन् । पश्चिम नेपालको गौरवको रुपमा शुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सवैलाई सहकार्यका लागि शाहले अपिल गरेका छन् ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने बताए । महिला फूटबलकी कप्तान सुब्बाले नेपालगन्जमा राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुनु खुशीको कुरा भएको बताइन् । नेपाली महिला टिमकी पहिलो कप्तान सिंहले प्रतियोगिता सफलताको शुभकामना दिइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार