नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा अन्तर वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ शुरु भएको छ ।
भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले उदघाटन गरे ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले नरैनापुर गाउँपालिकाले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण अझ फराकिलो बनाउँदै लैजाने बताए ।
कार्यक्रमका नरैनापुर–६ का अध्यक्ष प्रेम मौर्यले खेलकुद राष्ट्रको शान र पहिचान भएकाले यसको गरिमालाई सदैव उच्च राख्नुपर्ने बताए ।
प्रतियोगिता अन्तरगत आज भएको खेलमा राप्तीसोनारी विजयी भएको छ । नरैनापुरलाई उदघाटन खेलमा ५ विकेटले पराजित राप्तीसोनारीले विजयी शुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको नरैनापुर १२ ओभरमा ११९ रन जोड्दै अलआउट भयो । १२० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्न खेल मैदानमा उत्रिएको राप्ती सोनारीले ११.३ ओभरको समाप्ति र ७ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
खेलमा दिपेन्द्र कुमार म्यान अफ द म्याच घोषित भए ।
युवा सशक्तीकरण र पहिचानका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा बाँके जिल्लाका ८ वटै स्थानीय तहका तिन दर्जन टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै उपविजेता टिमलाई नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार