सुर्खेत : पश्चिम सुर्खेतका बासिन्दाले बर्सेनि बाटोघाटोको समस्या भोग्दै आइरहेका छन् । जिल्लाको पश्चिमी भेगमा सडकको सहज पहुँच छैन । केही गाउँठाउँमा जोडिएको सडक पनि कच्ची र जीर्ण छन् ।
बर्खाको समयमा हिलाम्मे सडकले सास्ती दिन्छ भने हिँउदमा धुलाम्मे सडकको पीडा यहाँका बासिन्दाले भोग्दै आइरहेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर हो तर जिल्लाभित्रकै ठाउँ बाटाघाटा नपुग्दा निकै दुर्गम भएका छन् ।
सडक हिलाम्मे भएकाले पश्चिमी क्षेत्रका बासिन्दालाई वीरेन्द्रनगर आउजाउमा समस्या मात्र भएको छैन, हिलोमा फसेका गाडी धकेल्नुपर्ने यात्रुको बाध्यता छ । बर्खाको पानीले अधिकांश क्षेत्र हिलाम्मे भएको र वीरेन्द्रनगर आउजाउ गर्न धेरै कठिनाइ हुने गरेको चौकुने गाउँपालिका–६ का देवबहादुर थापाले बताए । सवारीसाधन पाए पनि हिलाम्मे सडकमा गाडी फस्ने गरेको र छ घण्टाको दुरीमा रहेको वीरेन्द्रनगर पुग्न झन्डै नौ घण्टा समय लाग्ने गरेको उहाँले पीडा पोख्नुभयो । वर्षात्का कारण सडकको दुरावस्था भए पनि सम्बन्धित निकाय मौन रहेको उनको गुनासो छ ।
सडक हिलाम्मे भएका कारण सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर पुग्न कठिनाइ हुने गरेको चौकुने गाउँपालिका–७ का सागर मगरले बताए । हिँडेर जान सकिँदैन, दुई पाङ्ग्रे सवारीसाधनमा चल्ने सक्ने अवस्था छैन भने चारपाङ्ग्रे सवारीसाधन चढ्दा कति बेला कहाँ फस्ने हो र धक्का लगाउनुपर्ने हो भन्ने चिन्ता हुने गरेको उनले बताए । सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दै आए पनि समस्या ज्युँका त्युँ रहेको उनले दाबी गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार