Listen LIVE

भारतले आज मनायो ७७औं गणतन्त्र दिवस

काठमाण्डौ : छिमेकी मुलुक भारतले आज ७७औं गणतन्त्र दिवस मनाएको छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गरेको छ ।

समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिएको परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश गरिएको थियो । युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मख्य अतिथि रहेका थिए । 

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गरेको बताइएको छ । परेडको सुरूवात अघि झण्डै १०० सांस्कृतिक कलाकारले ‘विविधतामा एकता’ विषयमा प्रस्तुति दिएको बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७७ औं गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत् देशवासीलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘भारतको आन–बान र शानको प्रतीक यो राष्ट्रिय महापर्वले तपाईं सबैको जीवनमा नयाँ ऊर्जा र उत्साहको सञ्चार गरोस् । विकसित भारतको संकल्प अझै अधिक सुदृढ होस्, यही कामना छ ।

प्रतिक्रिया