Listen LIVE

महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु

काठमाण्डौ : भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि  हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए ।

बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ ।

कति मानिसको मृत्यु र घाइते भएको भन्नेबारे यकिन विवरण सार्वजनिक नभएपनि कम्तिमा १५ जनाको मृत्यु भएको बताएको छ । बिबिसीले पनि एक डाक्टरलाई उद्धृत गर्दै १५ जनाको मृत्यु भएको समाचारमा लेखेको छ । घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ ।

त्यहाँ उपस्थित भक्तजनहरूले प्रशासनको फितलो सुरक्षा व्यवस्थाका कारण त्यस्तो घटना भएको आरोप लगाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन । मुख्यमन्त्री आदित्यनाथले अफवाहको पछि नलाग्न शान्त रहन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया