Listen LIVE

खोलामा आएको बाढीले अटो बगाउँदा दुई जना बेपत्ता

दाङ : दाङको  तुलसीपुर उपमहानगरस्थित खाद्रे गाउँमा खहरे खोलाले अटो बगाउँदा दुई जना बगेर बेपत्ता भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे गाउँस्थित बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा खाद्रे गाउँकी ५६ बर्षीया सीता आले र सुर्खेत जिल्ला घर भई खाद्रे गाउँमै बस्दै आएकी १७ बर्षीया मञ्जु खड्का बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर–४ स्थित बेतनी खोलामा आएको बाढीले बगाएको थियो ।

अटोमा पाँच जना सवार थिए । चालक खाद्रे गाउँका ४६ बर्षीय हरिकिशन बिक, स्थानीय ३४ बर्षीया सुनिता थापा र उनका ७ बर्षीय छोरा सुशान्त आले भने बाढीबाट उत्रन सफल भएका थिए । आमा सुनिताले आफूसहित छोरा सुशान्तलाई पनि जोगाउन सफल भएकी थिइन् ।

बर्षाका कारण खाद्र भएर बग्ने खहरेले बेतनी खोलामा शुक्रबार बेलुका ठूलो बाढी आएको थियो । अटो चालकले बाढीको अवस्था अन्दाज नगरी अटो खोलामा हाल्दा बगाएको थियो ।

खोलाले बगाई बेपत्ता रहेका सीता र मञ्जुको खोजी कार्य जारी छ । घटनास्थल खाद्रे प्रहरी चौकीबाट झन्डै डेढ किलोमिटर उत्तर पश्चिम र तुलसीपुर बजारबाट १३ किलोमिटर उत्तर पूूर्वमा पदर्छ । खोलाले अटोसहित यात्रु बगाएको भन्ने सूचना पाउनासाथ इप्रका तुलसीपुरबाट खटिएको टोलीले उद्दार गरेको थियो ।

त्यस्तै शुक्रबार राति करिब पौने दश बजेतिर अर्को एउटा अटोलाई पनि काला खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर बजारबाट बिजौरीतर्फ जाँदै गरेको रा १ ह २३५७ नम्बरको अटोसहित चालकलाई काला खोलामा आएको बाढीले बगाएको थियो ।

अटोमा चालक तुलसीपुर – ७ पर्सेनी गाउँका २२ बर्षीय दुर्गाबहादुर पुन एक्लै सवार थिए । उनले मापसे पनि गरेका थिए । उनको भने केहीबेरमै उद्धार भएको थियो ।

तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत पर्ने काला खोलामा आएको बाढीका कारण ह्युमपाइप माथिबाट खोला बगिरहेको थियो ।

अटो बगाएको खबर पाउनासाथ इप्रकाबाट प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलको नेतृत्वमा खटिएको ७ जनाको प्रहरीले चालक पुनको उद्धार गरेको तुलसीपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया