भैरहवा : रुपन्देहीको बेलहिया नाका हुँदै बाह्य मुलुकमा निर्यात बढेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार तीन वर्ष यता भारत लगायत तेस्रो मुलुकमा लगातार निर्यात वृद्धि भएको हो ।
मुलुकका विभिन्न जिल्लामा उत्पादित वस्तु भैरहवास्थित बेलहिया नाका हुँदै निर्यात हुने गर्छ । भन्सारका सूचना अधिकृत नरेन्द्रप्रसाद चौधरीका अनुसार आर्थिक वर्ष २०७९–०८० मा भन्दा २०८०–०८१ मा सवा तीन अर्बले निर्यात वृद्धि भएको छ । ‘निर्यात वृद्धि हुनु हाम्रा लागि खुशीको कुरा हो’, उनले भने, ‘सरकारी नीति धेरै भन्दा धेरै निर्यातजन्य वस्तुको उत्पादन गरी व्यापार घाटा कम गर्ने र आत्मनिर्भर बन्ने नै छ । यसैले निर्यातजन्य वस्तु उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।’ उनले निर्याजन्य वस्तुको पहिचान गरी उत्पादनमा जोड दिन सबैलाई आग्रह गरे ।
भन्सारका अनुसार आर्थिक २०८०–०८१ मा १३ अर्ब ८२ करोड ४२ लाख ६३ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बेलहिया नाका हुँदै भारततर्फ निर्यात भएको छ । २०७९–०८० मा १० अर्ब ७० करोड ९१ लाख ५६ हजार रुपैयाँ मूल्यको नेपाली उत्पादन निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्क छ । यस्तै, २०७८–०७९ मा सात अर्ब ८१ करोड ४७ लाख ५७ हजार रुपैयाँका वस्तु निर्यात भएका थिए । यो नाकाबाट निर्यात हुने कतिपय नेपाली उत्पादन भारत हुँदै तेस्रो मुलुक पनि जाने उनले बताए ।
“बेलहियाबाट निर्यात हुने अधिकांश सामान भारतकै विभिन्न ठाउँमा खपत हुन्छ तर केही सामान अन्य मुलुकमा पनि जाने गरेको हामीलाई जानकारीमा छ“, सूचना अधिकृत चौधरीले भने । भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा सबैभन्दा बढी निर्यात हुने १० वस्तुमा सेन्थेटिक यार्न पहिलो नम्बरमा छ । सेन्थेटिक यार्न तीन अर्ब ३६ करोड ३८ लाख नौ हजार रुपियाँ बराबरको निर्यात गरिएको छ ।
यस्तै, सिमेन्ट एक अर्ब ६५ करोड ८६ लाख नौ हजार, सिमेन्ट क्लिंकर एक अर्ब २० करोड २७ लाख ८९ हजार, विभिन्न वनस्पति उत्पादन ८२ करोड ५९ लाख ३६ हजार रुपैयाँको निर्यात भएको सूचना अधिकृत चौधरीले बताए । पिना ६६ करोड १९ लाख ७१ हजार, अल्किड रेजिन्स र अन्य रेजिन्स ६३ करोड ३५ लाख ८२ हजार, रोजिन (तार्पिन) खोटो ४७ करोड ३५ लाख ५ हजार, चाउचाउ नडुल्स पास्ता ४६ करोड ८६ लाख ५ हजार, जडिबुटी र विरुवाको अंग ४३ करोड ८० लाख ५६ हजार र प्लाइउड ४३ करोड २६ लाख ६७ हजार रुपैयाँ मूल्यको निर्यात भएको भन्सार तथ्यांकमा उल्लेख छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले निर्यातमा भइरहेको सुधार सकारात्मक भएपनि जति हुनुपर्ने हो अझै हुन नसकेको बताए । “निर्यातमा थुप्रै झन्झट छन्, व्यवसायी विभिन्न कार्यालय धाउँदा र स्वीकृत लिँदालिँदै थाक्छन“, उनले भने, “अव्यावहारिक र व्यावसायिक हितविपरीतका प्रावधान हटाउनुपर्छ । यसपछि निर्यात थप बृद्धि हुन्छ ।“ उनले सरकारले राजस्व असुली मात्रै गर्ने नभई व्यावसायिक वातावरण बनाउनुपर्ने बताए ।
“निकासीजन्य वस्तुको पहिचान गरी, त्यस्तो क्षेत्रमा सुविधा दिने, आवश्यक परे सरकारले नै लगानी गर्ने र निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ“, उनले भने, “आर्थिक मन्दीको अहिलेको अवस्थामा निराश बनेका उद्योगी–व्यवसायी र आमनागरिकलाई राहतसहित उत्थानका कार्यक्रम ल्याउन जरुरी छ । यसले बल्ल उत्पादन बढ्छ र निकासी वृद्धि हुन्छ ।“
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार