Listen LIVE

पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता

पाल्पा : पाल्पाका ३१ वर्षीय चिना कुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीय ज्योती सार्कीको समलिङ्गी विवाहले कानुनी मान्यता प्राप्त गरेको छ । पाल्पाको रामपुर नगरपालिका–९ नम्बर वडा कार्यालयमा विवाह दर्ता भएसँगै कानुनी मान्यता प्राप्त गरेको हो ।

रामपुर–९ जब्गादी निवासी चिना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योती दुवै महिला हुन् । लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुको जोडीले २०७८ असोज २९ गते परम्परा अनुसार विवाह गरेका थिए । वडा कार्यालयमा विवाह दर्ता गरेपछि मात्र कानुनी रूपमै विवाह बन्धनमा बाँधिएका हुन् ।

चिना र ज्योतीले विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा गत आइतबार विवाह दर्ता प्रमाणपत्र जारी गरिएको रामपुर –९ का स्थानीय पञ्जीकाधिकारी एवम् वडासचिव मो.युनुस खानले जानकारी दिए । उनले भने, ‘‘पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर प्रमाणपत्र प्रदान गरिएको छ ।’’

विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतीलाई दुलही उल्लेख गरिएको छ । उनी दुवै जना वैदेशिक रोजगारीको क्रममा कतारमा छन् । घर आएको समयमा यस पटक उनीहरुले विवाह दर्ता गराएका हुन् । २०७१ सालमा वैदेशिक रोजगारबाट नेपाल आएको ज्योती र वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका चिनाको भेट भएको थियो । त्यसपछि दुवै जनासँगै रोजगारका लागि निस्किएका थिए । युएई र कतारमा सँगसँगै काम गरेका दुवै जनाको सम्बन्ध बढ्दै गएको थियो । अन्ततः विवाह गर्ने निर्णयमा पुगे पनि शुरुवातमा आफन्तलाई मनाउन केही समय लागेको ज्योतीले बताइन् ।

२०७८ सालमा पाल्पाको सिद्धबाबा मन्दिरमा गएर विवाह गरेको उनले बताइन् । विवाह गरेको तीन वर्षपछि विवाह दर्ताको प्रमाण पत्र पाउँदा खुशी लागेको बताइन् । ‘‘विवाह गरेर हामी एक भए पनि कानुनी रुपमा पहिचान पाएका थिएनौं । विवाह दर्ता प्रमाण पत्र पाउँदा खुशी लागेको छ ।,’’ ज्योतीले भनिन, ‘‘समलिङ्गी विवाह दर्ता पाल्पामा चिना र ज्योतीको पहिलो हो ।’’

२०८० असार १२ गतेको सर्वोच्च अदालतको उत्प्रेषणयुक्त अन्तरिम आदेशसँगै गृह मन्त्रालयको निर्णयानुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी समलिङ्गी विवाह दर्ताको व्यवस्था मिलाउन २०८१ वैशाख १२ गते स्थानीय तहलाई परिपत्र गरेको थियो ।

प्रतिक्रिया