Listen LIVE

नेपालगञ्जमा यस वर्ष लोडसेडिङ नहुने

नेपालगञ्ज : नेपालकै अत्यधिक गर्मी हुने स्थानका रूपमा परिचित नेपालगञ्जमा यस वर्ष गर्मीयाममा विद्युत् आपूर्ति अवरुद्ध नहुने नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख संजयकुमार मिश्राका अनुसार पछिल्लो चार महिनामा गरिएको प्राविधिक सुधार तथा संरचनागत व्यवस्थापनका कारण यस वर्ष लोडसेडिङ नहुने अवस्था सिर्जना भएको हो ।

उनले केन्द्रले थप फिडर जडान गरेपछि विद्युत् लोड व्यवस्थापन सहज बनेको र आपूर्ति प्रणालीमा एकरूपता कायम भएकाले नियमित आपूर्ति सम्भव भएको बताए ।

प्रमुख मिश्राका अनुसार नेपालगञ्जमा देखिएको मुख्य समस्या ओभरलोड रहेकाले त्यसको समाधानका लागि फिडर थप गरी सन्तुलन मिलाइएको हो । प्राकृतिक विपत्ति जस्ता आकस्मिक अवस्थाबाहेक अन्य कारणले विद्युत् आपूर्तिमा समस्या नआउने विश्वास उनले व्यक्त गरे ।

गर्मीका बेला अत्यधिक विद्युत् खपत हुने नेपालगञ्जका उपभोक्तालाई यसले ठुलो राहत पुग्ने नागरिक सरोकार मञ्च नेपालगञ्जका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

केन्द्रका अनुसार हाल नेपालगञ्ज क्षेत्रमा करिब २२ देखि २३ मेगावाटसम्म विद्युत् खपत भइरहेको छ ।

प्रतिक्रिया