नेपालगञ्ज : नारी विकास केन्द्रले ५२ जना महिलाहरुलाई धुप र अचार बनाउने तालिम दिएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आयोजना तथा नारी विकास केन्द्रको सहकार्यमा उक्त तालिम सम्पन्न गरिएको हो ।
तालिमका सहभागीहरुलाई लुम्बिनी प्रदेश सभाका सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्यतामा नारी विकास केन्द्रको सभा कक्षमा आयोजित समापन समारोहमा प्रमाण पत्र वितरण गरिएको छ ।
कार्यवाहक अध्यक्ष शीला शाहका अनुसार तीन दिनसम्म सञ्चालित धुप तालिममा २६ जना र सात दिनसम्म सञ्चालित अचार बनाउने तालिममा २६ जनासमेत ५२ जना महिलाहरुको सहभागिता रहेको थियो । धुप बनाउने तालिमका प्रमुख प्रशिक्षक मेनका वैद्य जोशी र सहायक प्रशिक्षकमा पवित्रा शर्मा रहेकी थिइन् भने अचार बनाउने तालिममा प्रमुख प्रशिक्षक कमला चौधरी र सहायक प्रशिक्षकमा राधिका खत्री रहेको कार्यवाहक अध्यक्ष शाहले बताए ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ को समन्वयमा भएको दुबै तालिमका सहभागीहरु वडा कार्यालयले छनौट गरेको नारी विकास केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले जानकारी दिइन् ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य मीना श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेको सीप अब व्यवहारमा लागु गर्नुहोस्, उत्पादित धुप र तरकारीको बजार व्यवस्थापनका लागि र अन्य आवश्यक सहयोगका लागि नारी विकास केन्द्र सँधै साथ दिने प्रतिवद्धता व्यक्त गरिन् ।
नारी विकास केन्द्रकी अध्यक्षसमेत रहेकी प्रदेश सांसद् श्रेष्ठले तपाई हाम्रै करबाट जम्मा भएको पैसा प्रदेश सरकारले यस्तै किसिमका तालिम तथा कार्यक्रमहरुलाई आएको जानकारी दिइन् ।
पर्यटन डिभिजन कार्यालय, कोहलपुरका वरिष्ठ अधिकृत कृष्ण विष्टको अध्यक्षता तथा सचिव मेनका वैद्य जोशीले सञ्चालन गरेको उक्त समारोहमा वरिष्ठ अधिकृत कृष्ण विष्टले तालिमले सहभागी महिलाहरुलाई उद्यमशील हुने प्रेरणा जगाएको बताउँदै अब उद्यमी भएर आर्थिक रुपमा स्वावलम्वी हुन आग्रह गरे ।
सो अवसरमा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोखरेलले अचार जस्तो खाद्य तथा उपभोग्य वस्तु नागरिक स्वास्थ्यसंग सम्बन्धित भएकोले अचर उत्पादन गर्दा स्वस्थकर, गुणस्तरमा ध्यान दिनुपर्ने कुरामा जोड दिँदै यसको प्याकिजिङमा पनि ध्यान दिन सहभागीहरुलाई आग्रह गरे ।
सो अवसरमा वरिष्ठ समाजसेवी तथा केन्द्रकी सल्लाहकार सुश्री शान्ति श्रेष्ठ, केन्द्रकी उपाध्यक्ष तथा जागृति महिला सेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, वरिष्ठ पत्रकार पूर्णलाल चुके लगायतले आफ्नो मन्तव्यको क्रममा तालिममा सिकेको सीप व्यवहारमा लागु गरेर आर्थिकरुपमा स्वावलम्वी हुनुपर्ने कुरामा जोड दिँदै नारी विकास केन्द्रले स्थापनाकालदेखि गर्दै आएको सामाजिक क्रियाकलापहरुको प्रशंसा गरेका थिए ।
सचिव मेनका वैद्य जोशीका अनुसार अचार उत्पादन तालिममा आँप, मेथी, करेला, मूला लगायत १४ किसिमका अचार बनाउने विधि सिकाइएको थियो भने सो समापन कार्यक्रममा केन्द्रकी सहसचिव सपना राणा, सदस्य प्रतिमा राणालगायत ८० जनाको उपस्थिति थियो ।
नारी विकास केन्द्रकी कार्यवाहक अध्यक्ष शीला शाहले २०३२ सालमा स्थापना भएको गत वर्ष स्वर्ण महोत्सव मनाएको नारी विकास केन्द्रले यसअघि विपन्न समुदायका गर्भवति महिलाहरुलाई अत्यावश्यक वस्तुहरु हस्तान्तराण गरेको जानकारी दिइन् । कार्यवाहक अध्यक्ष शाहका अनुसार नेपालगञ्ज र कोहलपुरमा महिलाहरुका लागि विभिन्न किसिमका सीपमूलक तालिमहरु सञ्चालन भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार