Listen LIVE

रुपईडिहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

नेपालगञ्ज : नेपाल–भारत सीमापारी रुपईडिहा रोडवेज बसपार्क क्षेत्रमा नेपाली यात्रुमाथि ठगी, लुटपाट तथा दुव्र्यवहारका घटनामा पुनः वृद्धि हुन थालेको छ ।

बसपार्कमा राति १२ बजेदेखि बिहान ८ बजेसम्म करिब डेढ दर्जन बस आगमन हुने गरेकाले विशेषगरी बिहान ३ बजेतिर दलालहरूको गतिविधि तीव्र हुने गरेको बताइएको छ । भारतबाट नेपाल फर्किने यात्रुहरूले उक्त समयमा बसपार्कमा असुरक्षित महसुस गर्ने गरेका छन् ।

सल्यान कपुरकोटका दिलबहादुर थापाका अनुसार बसपार्कमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा केही व्यक्तिहरूले यात्रुलाई तानातान गर्ने, रकम माग्ने, धम्की दिने तथा डराउने जस्ता गतिविधि गर्ने गरेका छन् ।

उनले भने, æनेपाल–भारत सीमा बिहान ६ बजेपछि मात्र खुल्ने भएकाले राति रुपईडिहा बसपार्क पुग्ने नेपालीहरू अत्यन्त असुरक्षित अवस्थामा रहन्छन् ।Æ

त्यसैगरी, रातिको समयमा बसपार्क पुग्ने यात्रुहरूका मोबाइल चोरी, जेब काटिने तथा सामान हराउने घटनामा पनि वृद्धि भइरहेको गुनासो आएको छ । अमृतसरबाट फर्किएका कालिकोटका रमेश रावलका अनुसार केही अज्ञात व्यक्तिहरूले उनको मोबाइल र नगद रकम जबर्जस्ती लिएर लगेका थिए ।

यसअघि केही समयअघि होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कंडेलको नेतृत्वमा गएको टोलीले भारतीय प्रहरी तथा एसएसबीका सुरक्षा अधिकारीसँग भेट गरी नेपाली यात्रुको सुरक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेको थियो । तर केही समयपछि पुनः उस्तै अवस्था देखिएको बताइएको छ ।

रुपईडिहाका पत्रकार एसके मधेशियाका अनुसार हालैमात्रै एक नेपाली यात्रुको झोला हराएको घटना सार्वजनिक भएको छ भने मोबाइल चोरी तथा सामान हराउने घटनाहरू दिनहुँ बढ्दै गएका छन् ।

बसपार्कका सहायक क्षेत्रीय प्रबन्धक रामप्रकाशले यात्रुको सुरक्षाका लागि प्रहरी परिचालन आवश्यक रहेको भन्दै रातिको समयमा कम्तीमा दुई जना स्थायी प्रहरी खटाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

यसैबीच, अध्यक्ष कंडेलले गैरकानुनी होटल व्यवसाय तथा अराजक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया